राहत उद्धारका लागि एनआरएनले ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने
काठमाडौं । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितको राहत उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)द्धारा ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु. ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय एनआरएनएले गरेको हो ।
विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति संघले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यस विपद्को घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकार, स्थानीय निकाय तथा सरोकारवालालाई अनुरोध एनआरएनएले अनुरोध गरेको छ । यसै सन्दर्भमा एनआरएनएका अध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति, स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, एनसीसी परिचालनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजक समेत रहने गरि एनसीसी परिचालन समिति गठन गर्ने र विपद व्यवस्थापन समिति र सम्बन्धित निकायसंग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई जिम्मेवारी तोक्ने निणैय भएको एनआरएनएले जनाएको छ ।
त्यस्तै प्रभावित क्षेत्रमा आवश्यक मेडिकल तथा स्वयंसेवक टोलीलाई तत्काल परिचालन गर्ने साथै सम्पूर्ण एनआरएनएका पदाधिकारी तथा सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गर्ने निर्णय समेत बैठकले गरेको छ ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूमा पनि आईसीसीमा गठन गरिएझैँ समिति गठन गरि तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिने निर्णय समेत भएको छ ।
नेपाल सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न एनआरएनए तयार तथा प्रतिबद्ध रहेको निर्णय गर्दै, सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने, आर्थिक सहयोगका लागि अनलाइनमार्फत (डेबिट कार्ड, पेपाल वा अन्य डिजिटल वालेट) सिधै एनआरएनएको आधिकारिक पोर्टल र बैंकिंग माध्यम र राष्ट्रिय समन्वय परिषद्को (एनसीसी) संयन्त्रसमेत बाट रकम जम्मा गर्ने व्यवस्था गर्ने,
एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यहरू बाढीबाट प्रभावित भए नभएको जानकारी संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गर्ने लगायतका निर्णय बैठकले गरेको एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिएका छन् ।


