रसुवा बाढीपछि विद्युत पूर्वधारमा ठूलो क्षति, वत्ती गएपछि ऊर्जा मन्त्रालयले के के गर्यो ?
काठमाडौँ । रसुवामा आएको बाढीले विद्युत पूर्वाधारमा ठूलो क्षति पुगेको छ । विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार १२ वटा जलविद्युत आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । यो देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत हो ।
९ जलविद्युत आयोजनाका १९६ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।
रसुवामा पूर्णरुपमा वत्ती गएको छ भने नुवाकोट, धादिङ, गोरखामा आंशिक अवरुद्ध छ । विभिन्न ठाउँमा पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
६ प्रसारण लाइन अवरुद्ध भएको छ भने त्रिशूलीको २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षति भएको छ ।
मन्त्रालयले के के गर्यो ?
घटनालगत्तै विद्युत कसरी सूचारु गर्ने भनेर प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेको छ ।
सञ्चार सम्पर्क कायम गर्न सञ्चार मन्त्रालय, नेपाल टेलिकम र एनसेललाई पोलमा, तारहरु तान्ने, अप्टिकल फाइबर जडानमा सहयोग गरेको छ ।
मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूह (एसएमटी)को बैठक बसेको छ । बैठकमा सूचना प्रवाह प्रभावकारी बनाउने, बाढी पूर्वानुमहाशाखालाई सक्रिय बनाउने र चीनसँग डेटा सहकार्य प्रभावकारी बनाउने निर्णय भयो ।
काठमाडौं उपत्यकासहित देशभर विद्युत् आपूर्तिलाई नियमित, सुरक्षित र दिगो बनाइराख्न आवश्यक वैकल्पिक तथा आकस्मिक व्यवस्थाका लागि समेत तयारी गरिएको छ ।
विपदमा परेका कर्मचारी, मजदूर तथा आममानिसको उद्धार तथा पुनःस्थापनाका लागि गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न तथा प्रभावित क्षेत्रमा तत्काल संयन्त्र परिचालन गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ वटा भन्दा बढी सवारी साधन प्रभावित क्षेत्रमा परिचालित गरेको छ ।
प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक सहितको टोली प्रभावित क्षेत्रको अनुगमन गरी फर्किएको छ । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशिल छ ।
सम्पर्क बिहिन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको छ । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरुको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी रहेको छ ।
उद्धार तथा समन्वयका लागि मन्त्रालयका सहसचिवसमेत प्रभावित क्षेत्रमा खटिएको छ ।
मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)सँग पनि छलफल गरी जलविद्युत् आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनःस्थापनाका विषयमा जानकारी लिएको छ ।
बैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास गरेको छ । सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ ।
गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको छ ।
सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ्ग गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भैरहेको छ ।
अवरुद्ध भएको विद्युतका कारण प्रणालीलाई सुचारु राख्न विद्युत प्रणाली सञ्चालन विभागलाई निर्देशन गरिएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा बिहीबार पाँच सयभन्दा बढी सोलार वितरण गर्ने । साथै इन्टर्भटरकै काम गर्ने वत्तीहरु बाल्ने, मोबाइल चार्ज गर्ने अस्थायी लाइटहरु वितरण गरिँदैछ ।
यसैगरी आवश्यक परेमा भिमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ ।


