अल्जेरिया र अस्ट्रियाबीच रोमाञ्चक बराबरी, जोर्डनमाथि अर्जेन्टिनाको सहज जित
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह जे अन्तर्गतका अन्तिम खेलहरूमा साविक विजेता अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ भने अस्ट्रिया र अल्जेरियाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ।
डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम ३२ मा प्रवेश गर्यो। अर्कोतर्फ, क्यान्सास सिटी स्टेडियममा भएको गोलको वर्षा भएको खेलमा अल्जेरिया र अस्ट्रियाले ३–३ को बराबरी खेलेका छन्। यो बराबरीसँगै अस्ट्रिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।
नकआउट चरणमा यसअघि नै स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीसहित केही मुख्य खेलाडीहरूलाई पहिलो हाफमा विश्राम दिएको थियो। यद्यपि, अर्जेन्टिनाले खेलमा पूर्ण पकड जमायो। खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रि–किकमार्फत सिधै गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई लाउटारो मार्टिनेजले सहजै गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको सुरुवातमै जोर्डनका स्टार खेलाडी मुसा अल–तामरीले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गरेर खेललाई २–१ को स्थितिमा ल्याए र खेलमा कौतुहलता जगाए।
खेलको ५९औँ मिनेटमा मैदान प्रवेश गरेका लियोनेल मेस्सीले ७९औँ मिनेटमा डिफेन्सिभ पर्खाललाई चक्मा दिँदै सानदार तल्लो फ्रि–किक गोल गरे। यो गोलसँगै मेस्सी विश्वकपका लगातार ७ खेलमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्।
अर्को चरणमा पुग्न जित्नै पर्ने दबाबमा रहेको अल्जेरिया र बराबरी भए पुग्ने अस्ट्रियाबीचको खेल उतारचढावले भरिएको रह्यो। खेलको २८औँ मिनेटमा अनुभवी स्ट्राइकर मार्को अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियालाई १–० को अग्रता दिलाए। तर, पहिलो हाफको अन्तिम मिनेटमा अल्जेरियाका राइट–ब्याक रफिक बेल्घालीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ५५औँ मिनेटमा अस्ट्रियाका मार्सेल साबिट्जरले गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए। तर, ६०औँ मिनेटमा अल्जेरियाका कप्तान रियाद महरेजले सुन्दर गोल गर्दै खेल २–२ को स्थितिमा पुर्याए।
खेलको ९०औँ मिनेटको थप समयमा रियाद महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि अल्जेरिया ३–२ ले अघि बढ्दै नकआउटको नजिक पुगेको थियो। तर, खेल सकिनै लाग्दा अस्ट्रियाका सब्सिच्युट खेलाडी साशा कालाज्दिचले हेडमार्फत नाटकीय गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए र अल्जेरियाको सपना चकनाचुर पारिदिए। अल्जेरिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेका ‘सर्वोत्कृष्ट तेस्रो टोली’ बन्दै अघिल्लो चरणमा प्रवेश गरेकाे छ।


