ज्योति विकास बैंकद्वारा स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिन प्रदान
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का सिलाई सम्बन्धि तालिम लिएका लक्षित वर्गका नागरिकहरूलाई स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिनहरू हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत उक्त सिलाई मेसिन प्रदान गरेको हो।
वीरेन्द्रनगर नगरपालिकाका स्थानीय निकायसँगको सहकार्यमा सम्पन्न उक्त पहलअन्तर्गत सिलाईसम्बन्धी ज्ञान, सीप तथा तालिम प्राप्त लक्षित तथा विपन्न वर्गका व्यक्तिहरूलाई सिलाई मेसिन प्रदान गरिएको हो। परम्परागत सीप र कलालाई व्यावसायिक रूपमा उपयोग गर्न सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको छ।
बैंकको पहलमा प्रदान गरिएको सिलाई मेसिनले सीप भएका तर आवश्यक उपकरणको अभावमा आयआर्जनका अवसरबाट वञ्चित नागरिकहरूलाई स्वरोजगारतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ। यस सहयोगले स्थानीयस्तरमा सीपमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक रूपमा कमजोर वर्गका व्यक्तिहरूको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई समुदायको आवश्यकता, समावेशी विकास र दिगो सामाजिक प्रभावसँग जोड्दै आएको छ। शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधार, वातावरण संरक्षण तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
Visited 23 times, 1 visit(s) today


