जेठ ९ गते दरबारमार्गमा ‘एक्सट्रिम स्याटर्डे, १९ औँ दरबारमार्ग स्ट्रिट फेस्टिबलको भव्य तयारी
काठमाडौंको दरबारमार्गमा यही जेठ ९ गते १९ औँ दरबारमार्ग स्ट्रिट फेस्टिबल आयोजना हुने भएको छ । यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’को मुख्य प्रायोजनमा यो उत्सवलाई एक्सट्रिम स्याटर्डेका रूपमा अझ ऊर्जावान् बनाइने आयोजकले जनाएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आविंटरी इभेन्ट्सद्वारा आयोजना हुने महोत्सवले सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ । हरेक वर्षझैँ स्ट्रिट फेस्टिबलको भरपुर मजा निःशुल्क लिन पाइनेछ ।
बालबालिकाका लागि विभिन्न खेलहरू, ३४३ बास्केटबल, इ-स्पोर्ट्स, सांस्कृतिक झाँकीहरू र फोटो बुथहरू महोत्सवका मुख्य आकर्षण छन् । यसैगरी विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरूका साथमा सांगीतिक प्रस्तुतिसमेत रहनेछ । यस पटकको सांगीतिक साँझका लागि जोन एन्ड द लोकल्स, द एक्स, फोल्क्ट्रोनिक्स, एस टी म्यान (क्बल), जे अथर, सालिन मगर एन्ड व्यान्ड, प्रिजोल नेपाली एन्ड सरर, गन एल्भिसलगायतको प्रस्तुति हुनेछ ।
कार्यक्रममा रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जन प्रस्तोताका रूपमा रहनेछन् । एक्सट्रिम इनर्जी ड्रिंक्सको साथले यस वर्षको ‘एक्सट्रिम स्याटर्डे’ अहिलेसम्मकै उत्साहजनक र यादगार हुने आयोजकको विश्वास छ ।


