मोरङका १७ ओटा क्रसर उद्योग मापदण्डविपरीत |

विराटनगर । मोरङका विभिन्न खोला किनार क्षेत्रमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको थाहा भएको छ । क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिको प्रतिवेदनअनुसार २२ उद्योगमध्ये पाँचओटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ । समितिको प्रतिवेदनअनुसार १७ ओटा क्रसर उद्योगले मापदण्ड पूरा नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।
उनले मापदण्ड पूरा नगर्ने सबै उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको बताएए । जिल्ला प्रशासन कार्यालयले क्रसर उद्योगको अनुगमन गर्न २ साताअघि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।
हाल जिल्लामा अवैध रूपमा हुने ढुङ्गा गिटीको उत्खनन रोक्न विशेष फोर्स नै गठन गरी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा अवैध रूपमा हुने ढुङ्गागिटीको उत्खनन रोक्न टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिएका छन् ।