टरिगाउँ विमानस्थलमा हवाई सेवा बन्द |
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाई सेवा भाडा विवादका कारण फेरि प्रभावित भएको छ । नियमित उडान गर्ने सम्झौता गरेको समिट एयरलाइन्सले हवाई भाडा बढाएपछि उडान प्रभावित भएको हो ।
प्रतिव्यक्ति दाङ–काठमाडौं ७ हजार २ सय रुपैयाँमा उडान गर्दै आएको समिटले हालै पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै भाडादर ९ हजार ८ सय ८० रुपैयाँ बनाएपछि उडान नै बन्द भएको छ । सातामा आइतवार र शुक्रवार उडान गर्दै आएको समिटले भाडामा कुरा नमिल्दा जेठ १३ र २० गते उडान गरेन ।
विमानस्थल सञ्चालनका लागि समन्वय गर्दै आएको तुलसीपुर उपमहानगरपालिकाले पनि एयरलाइन्सले एक्कासि भाडा वृद्धि गरेपछि समन्वयको भूमिका नै गर्न छोडेको छ । यता फेरि सेवालाई निरन्तरता दिन विमान कम्पनीसँग कुरा भइरहेको तुलसीपुरका घनश्याम पाण्डेले बताए । एक्कासी एकतर्फी भाडा वृद्धि गरे पनि भाडालाई सबैको सहज बनाउन कुरा भइरहेको उनले जानकारी दिए । भाडामा सहमति भएपछि हवाई सेवाले निरन्तरता पाउने उनको दाबी छ ।


