वीरगञ्ज नाकाबाट १२ मेट्रिकटनभन्दा बढी मरिच बरामद | तस्करीमा ठूला व्यवसायी नै सक्रिय रहेको प्रहरीको दाबी
वीरगञ्ज । नेपालकै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीका लागि चर्चित बनेको छ । तेस्रो मुलुकबाट आउने मरिच यही नाका हुँदै नेपाल भित्रिएर पुनः यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको खुलासा भएको छ । भारततिर लैजाँदै गरेको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरेबाट वीरगञ्ज नाका मरिच तस्करीका लागि मुख्य ट्राञ्जिट प्वाइन्ट भएको खुलासा भएको हो । मरिच तस्करीमा ठूला व्यवसायी नै सक्रिय रहेको प्रहरी स्रोतको दाबी छ ।
पर्साले प्रहरीले यूपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरिच तस्करी भइरहेको सूचनाका आधारमा पछ्याउँदै गएर उक्त ट्रकलाई नियन्त्रणमा लिएको थियो । भन्सारको चेकजाँच पार गरी भारततर्फ प्रवेश गर्ने क्रममा रहेको उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिमाणमा मरिच फेला परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । मरिच बरामद भएपछि प्रहरीले मङ्गलवारै यसबारे जानकारी दिएको हो ।्
सीमाक्षेत्रमा बरामद मरिचको कागपत्र देखाउन नसकेपछि चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए । आवश्यक अनुसन्धानपछि ट्रक र चालकसहित बरामद भएको मरिच कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा पठाइने प्रहरीले बताएको छ ।
मुख्य नाकाबाटै मरिच बोकेको ट्रक पास भएपछि उक्त समयमा ड्युटीमा रहेका कर्मचारीमाथि छानबिन अघि बढाइएको छ । छानबिनको जिम्मेवारी भन्सार अधिकृत मोहन भट्टलाई दिइएको वीरगञ्ज भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए ।
गत साउनयता पर्सा प्रहरीले तस्करी हुन लागेको १८ मेट्रिक टन मरिच, एउटा ट्रक, २ ओटा ट्याक्टर, एउटा मोटरसाइकल बरामद गर्नुका साथै मरिच तस्करीमा संलग्न ८ जनालाई पक्राउ गरिसकेको छ । भारतले आफ्ना किसानलाई संरक्षणका लागि आयातित मरिचको आयातमा भन्सार बढाएपछि नेपालबाट तस्करी बढेको हो । नेपालमा अहिले यसमा १० प्रतिशत भन्सार महशुल तोकिएको छ । सरकारले हालै ल्याएको बजेटअघि यो ५ प्रतिशतमात्र थियो । भियतनामबाट नेपालमा आयात हुने मरिचमा प्रतिमेट्रिक टन ३ हजार ७ सय अमेरिकी डलर मूल्याङ्कन तोकिएको छ ।
भारतमा यसको आयातमा ७८ दशमलव ५ प्रतिशत राजस्व लिने गरिएको छ । यही राजस्व अन्तरका कारण मूल्यमा पर्न गएको फरकले नेपालबाट भारततर्फ मरिचको तस्करी मौलाएको व्यवसायीहरू बताउँछन् ।


