यस वर्ष मनसुनबाट २ लाख २६ हजारभन्दा बढी प्रभावित हुने अनुमान, राष्ट्रिय कार्ययोजना स्वीकृत
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ मा यस वर्षको मनसुनमा साढे २ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार बसेको बैठकले स्वीकृत गरेको कार्ययोजनामा मनसुनजन्य विपद् जोखिम विश्लेषण तथा प्रभाव आकलन समेट्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी जिम्मेवार निकाय तथा तिनका प्रमुख जिम्मेवारी उल्लेख गरिएको छ । विषयगत क्षेत्र तथा सम्बन्धित निकायका मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना समावेश गरिएको कार्ययोजनामा सम्पर्क व्यक्तिहरू तथा अत्यावश्यक खोज, उद्धार र राहत सामग्रीको विवरणसमेत राखिएको छ ।
बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ लाई परिमार्जनसहित स्वीकृत गरेको छ । विपद्का घटना हुनासाथ खोज तथा उद्धारलगायत प्राथमिक कार्य तत्काल सञ्चालन गर्न संस्थागत संयन्त्र स्वतः परिचालित हुने व्यवस्था सुनिश्चित गर्न उक्त मापदण्ड तयार गरिएको जनाइएको छ । यसैगरी ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ पनि स्वीकृत भएको छ भने विपद् पूर्वतयारी तथा खोज–उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास प्रणालीलाई स्पष्ट र एकरूप बनाउन कार्यविधि ल्याइएको छ ।
बैठकले ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ लाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ । यस कार्यढाँचामा पूर्वानुमानका आधारमा विपद् आउनुअघि नै प्रभावित समुदायको सहभागितामा पूर्वकार्य गरी सम्भावित क्षति न्यूनीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०८१’ का केही दफा तथा उपदफामा संशोधन गरिएको छ ।


