चैत ११ देखि चितवन–डोल्पा राइड, ४ प्रदेशका १५ जिल्ला समेटिने
चितवन । आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ (साहसिक मोटरसाइकल पर्यटन) लाई बढावा दिने उद्देश्यका साथ हिमालयन राइडर्स चितवनले १२५० किलोमिटर लामो साहसिक यात्रा आयोजना गर्ने भएको छ । चैत ११ गते बुधबार चितवनको नारायणगढबाट सुरु हुने यो यात्रा ६ दिनसम्म चल्नेछ ।
चितवन उद्योग वाणिज्य संघको परिसरबाट सुरु हुने राइडको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गर्ने कार्यक्रम तय भएको छ । यात्राका क्रममा टोलीले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न १५ जिल्लालाई समेट्ने आयोजकले जनाएको छ ।
डोल्पा मुख्य गन्तव्य
यात्राको मुख्य गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको दुर्गम जिल्ला डोल्पालाई बनाइएको छ । राइडका संयोजक एवं चितवन अटोमोबाइल एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशीका अनुसार टोलीले चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वको भ्रमण गर्नेछ ।
‘हाम्रो उद्देश्य मोटरसाइकल यात्रामार्फत नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो,’ संयोजक जोशीले भने, ‘यसले ओझेलमा परेका गन्तव्यहरूलाई बाहिर ल्याउन र सडक सुरक्षाको सन्देश प्रवाह गर्न मद्दत पुग्नेछ ।’
रुट निर्धारण, सुरक्षा र आवासको सम्पूर्ण व्यवस्थापन पुरा भइसकेको संयोजक जोशीले जानकारी दिए । विगतमा मनाङ, ढोरपाटन, टकसेरा र सिक्लेस लगायतका क्षेत्रमा १० वटा सफल राइड सम्पन्न गरिसकेको हिमालयन राइडर्सले ‘राइड टुरिजम’ लाई मुख्य थिम बनाएको छ ।
आगामी दिनमा रारा, हुम्ला, रामारोसन तथा पूर्वका तिनजुरे, सोलु सल्लेरी र कालिन्चोक जस्ता क्षेत्रलाई पनि आफ्नो गन्तव्य सूचीमा राखेको जोशीले बताए । नेपालका उच्च पहाडी र हिमाली भेगमा राइड टुरिजमको ब्रान्डिङ गर्न सके पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउन सकिने कार्यक्रमका सहसंयोजक तथा चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले विश्वास व्यक्त गरे ।




