कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । गीत सार्वजनिक भएको दुई सातामै यसमा झण्डै तीन लाख टिकटक भिडियो बनेका छन् ।
युट्युबमा पनि गीतले २१ लाखभन्दा बढी भ्यूज पाइसकेको छ भने दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ । कतिपय दर्शकले व्यस्त राजनीतिक माहोलबीच गीतले मनलाई शीतल बनाएको प्रतिक्रिया दिएका छन् भने कतिले संगीत र दृश्य प्रस्तुतिको प्रशंसा गरेका छन् ।
गीतको लोकप्रियताले कीर्तिमानी गीतकार डा. उपाध्याय र चलचित्रका निर्देशक माइकल चन्द उत्साहित देखिनुभएको छ । चुनावी माहोलमा गीत सार्वजनिक गर्दा केहीले समय उपयुक्त नभएको भने पनि गीत सफल हुनेमा आफूहरू विश्वस्त रहेको चन्दले बताउनुभयो ।
रोमान्टिक शैलीको उक्त गीतमा धनबहादुर गिरी (बाबुल) र रचना रिमालको स्वर तथा गायक गिरीकै संगीत छ । सियोन श्रेष्ठको कोरियोग्राफीमा बनेको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको अभिनय छ ।
चलचित्रमा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व।सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला र दिनेश डिसीलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता उपेन्द्र शाही र स्वेता विमली हुनुहुन्छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहनुभएको छ ।
नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डीआर उपाध्यायका विभिन्न विधामा १५३ विश्व रेकर्ड कायम छन् । डा. उपाध्यायका ३७ बढी एल्वमका १५० भन्दा बढी गीत र भिडियो सार्वजनिक छन् भने १७ उपन्यास पाठकमाझ आएका छन् । यस्तै उहाँका कविता र गीत संग्रह पनि प्रकाशित छन् ।




