वीरेन्द्र बहादुर बस्नेतले गरे गतिशील लोकतान्त्रिक पार्टी छाडेको घोषणा
काठमाडौं । बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले पार्टी परित्याग गरेको उल्लेख गरेका हुन् । हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल नखाएकोले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ ।
गत भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोहबाट प्रभावित भई राजनीतिमा होमिएको भन्दै बस्नेतले अबका दिनमा स्वतन्त्र नागरिकका रुपमा समाजसेवामा समर्पित हुने बताएका छन् ।
उनले भदौको जनविद्रोहलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको विस्फोटको रुपमा व्याख्या गरेका छन् । सो घटनामा ७६ जना नवयुवाको सहादतले आफ्नो मनमष्तिष्क एवं हृदयलाई विचलित बनाएको र उनीहरुले देखेका सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाजको सपनाले आफूलाई राजनीतिमा आकर्षित गरेको र सोही अनुसार पार्टीको केन्द्रीय सदस्य बनेको उनको भनाइ छ ।
तर, पछिल्लो समय पद र दलको सीमाभित्र रहेर आफ्नो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन नसकिने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन् । अबको बाटो फरक भए पनि देशप्रतिको समर्पण यथावत् रहेको स्पष्ट पारेका छन् ।
आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने बस्नेतको योजना छ । उनले स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि र गुणस्तरीय माध्यमिक शिक्षालाई दिगो रोजगारी र समतामूलक समृद्धिको बीउ रोप्न सकिने प्रमुख क्षेत्र रहेको बताएका छन् ।
बस्नेतले गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिबद्ध रहन शुभकामना व्यक्त गर्दै अन्य सबै लोकतान्त्रिक राजनीतिक दलहरुलाई पनि शुभकामना दिएका छन् ।उनले अब आफू एक स्वतन्त्र र जिम्मेवार नागरिकका रुपमा समाजसेवी अभियानमार्फत् देशको सेवामा समर्पित रहने जनाएका छन् ।




