छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा कैद
काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाहरूले भोट हाल्न अझै पाउने जनाएको छ । तर, निर्धारित समय ५ बजेभित्र लाइनमा नस्बनेले भने मतदान गर्न पाउने छैनन् ।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सिटका लागि भएको निर्वाचनमा कुल ६ हजार ५४१ उम्मेदवार मैदानमा छन् ।
जसअनुसार अनुसार निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । आयोगले ५० प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक जानकारी दिएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका थिए। यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका थिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । यस्तै निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् । आयोगले छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।




