मतदान प्रतिशत बढ्ने आयोगको विश्वास
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान प्रतिशत बढ्ने अनुमान गरेका छन् । आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो अनुमान गरेका हुन् ।
नयाँ मतदाता र युवाहरूको प्रवेशले मतदान प्रतिशत बढ्ने र प्रभावकारी निर्वाचन शिक्षाका कारण बदर मतको प्रतिशत उल्लेख्य रूपमा घट्ने विश्वास आयोगले लिएको भण्डारीले जानकारी दिए । निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म नभएको र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको उनले आश्वस्त पारे ।
निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुनुलाई निर्वाचन आयोगले सकारात्मक र राम्रो लक्षणको रूपमा लिएको बताए । भण्डारीले सुरक्षाकर्मीको बाक्लो उपस्थिति अति संवेदनशील अवस्थाको संकेत नभई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता भएको बताए ।




