बर्दघाट लगानी फोरम सम्पन्न, बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास
काठमाडौं । नेपाल उद्योग परिसंघ को आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा लगानी फोरम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी लगानीकर्ताहरूले बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास व्यक्त गरेका छन्।
परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमइ भिलेजलाई पाइलट परियोजनाका रूपमा अगाडि बढाएर मोडल ग्राम बनाइनुपर्ने धारणा राखे। साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि औद्योगिक ग्रामको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उनले उद्योग स्थापना गर्दा ठूलो हिस्सा जग्गामा लगानी गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्ता संरचना आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ का निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरण र रोजगारी सिर्जनामा टेवा पुर्याउने बताए। निजी क्षेत्रको सक्रियताबिना आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण आवश्यक रहेको धारणा राखे।
परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान घट्दै गएको उल्लेख गर्दै औद्योगिक पार्क र ग्रामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नीतिगत तथा संरचनागत सुविधा आवश्यक रहेको बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय पहुँच, पूर्वाधार र बजारको सम्भावनाका कारण बर्दघाट क्षेत्र उद्योगका लागि उपयुक्त देखिएको बताए।
कार्यक्रममा एक सयभन्दा बढी उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो। सहभागीहरूले कृषि, पर्यटन, ऊर्जा तथा लघु उद्योग क्षेत्रमा लगानी विस्तार गर्न सकिने सम्भावनामा जोड दिएका छन्।




