फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक
काठमाडौं । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी लाई औपचारिक रूपमा सार्वजनिक गर्दै नेपाली बजारमा प्रिमियम स्मार्टफोन खण्डमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ । फ्ल्यागशिप स्तरको उपकरणका रूपमा प्रस्तुत गरिएको यस स्मार्टफोनले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषताहरूलाई समेट्दै उच्चस्तरीय स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
फ्ल्यागशिप अपेक्षालाई ध्यानमा राखी डिजाइन गरिएको ओप्पो रेनो १५ फाइभ जी मा ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले १२० हर्ज रिफ्रेस रेटसहित उपलब्ध छ, जसले स्पष्ट, उज्यालो र स्मूथ दृश्य अनुभव प्रदान गर्दछ । यस स्मार्टफोनलाई क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्मद्वारा सञ्चालन गरिएको छ, जसले दैनिक प्रयोगदेखि बहुकार्यसम्पादनसम्म स्थिर र प्रभावकारी कार्यक्षमता सुनिश्चित गर्दछ । ६५०० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभुक द्रुत चार्जिङ प्रविधिले लामो समयसम्म प्रयोग र छिटो चार्ज हुने सुविधा प्रदान गर्दछ ।
फोटोग्राफी क्षमतालाई विशेष प्राथमिकता दिँदै यसमा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेल मुख्य क्यामेराको नेतृत्वमा ट्रिपल रियर क्यामेरा प्रणाली समावेश गरिएको छ । यसअन्तर्गत ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा रहेका छन् । अगाडीतर्फ ४ के भिडियो रेकर्डिङ समर्थन गर्ने ५० मेगापिक्सेल अल्ट्रा–वाइड फ्रन्ट क्यामेराले सेल्फी र भिडियो सामग्री सिर्जनालाई थप प्रभावकारी बनाउँछ ।
ओप्पो रेनो १५ फाइभ जी को औपचारिक सार्वजनिक कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जसमा सञ्चारमाध्यम प्रतिनिधि, उद्योग साझेदार तथा प्रविधि क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्मार्टफोनका प्रमुख विशेषता, निर्माण गुणस्तर र समग्र प्रयोग अनुभव प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्राप्त गरे ।
डिस्प्लेले १.०७ अर्ब रङ समर्थन गर्ने, १२०० निट्ससम्मको उच्च चमक प्रदान गर्ने तथा गोरिल्ला ग्लास सेभेन आइ सुरक्षा सहित आउने भएकाले दृश्य स्पष्टता र मजबुती दुवै सुनिश्चित गर्दछ । कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक सुविधा समावेश गरिएको छ। साथै, ५ जी नेटवर्क समर्थन, वाइफाइ सिक्स, ब्लुटुथ फाइभ पोइन्ट फोर, इन्फ्रारेड रिमोट र डुअल नानो सिम सुविधाले यसलाई भविष्य–तैयार उपकरणका रूपमा प्रस्तुत गर्दछ ।
ओप्पो रेनो १५ फाइभ जी नेपालभरका ओप्पो अधिकृत स्टोर तथा साझेदार च्यानलमार्फत उपलब्ध हुनेछ ।




