कालिञ्चोक दर्शनले ६ महीनामा कमायो १ करोड २० लाख नाफा
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो।
गत आवको ६ महीनामा कम्पनीले करीब साढे ४७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सकेको थियो। त्यसको तुलनामा चालू आवमा १५२ प्रतिशतभन्दा बढीले नाफामा वृद्धि भएको हो। चालू आवमा कम्पनीको आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो।
गत आवको ६ महीनासम्म कम्पनीले ३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेकामा चालू आवमा त्यस्तो आम्दानी बढेर ३ करोड ५४ लाख रुपैयाँ नाघेको छ। त्यसैगरी सञ्चालन आम्दानी पनि २ करोड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि भएसँगै समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि १ करोड २ लाख रुपैयाँबाट वृद्धि भई १ करोड ४९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १.५८ रुपैयाँबाट बढेर ४ रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। प्रतिशेयर नेटवर्थ १०७.३६ पैसा रहेको छ।



