तेस्रो तेजश्री राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सम्पन्न: सातै प्रदेशका कानुन विद्यार्थीहरूको उत्साहजनक सहभागिता
काठमाडौं । विश्वविख्यात मानव अधिकार अधिवक्ता तेजश्री थापाको स्मृतिमा अन्तर्राष्ट्रिय मानवीय कानुन (International Humanitarian Law) का सिद्धान्त र नियमहरूको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल (KUSOL) को सहकार्यमा विगत तीन वर्षदेखि तेजश्री राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सञ्चालन हुँदै आएको छ।
यसै क्रममा माघ १० र ११ गते सम्पन्न तेस्रो तेजश्री राष्ट्रिय मुटकोर्ट प्रतियोगितामा देशभरका १० वटा कानुन कलेजबाट कुल ३० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा नेपाल ल क्याम्पस, नेसनल ल कलेज, पृथ्वीनारायण क्याम्पस, गण्डकी विश्वविद्यालय, हिमालयन ह्वाइटहाउस कलेज अफ ल, क्विन्स कलेज अफ ल एण्ड म्यानेजमेन्ट, तुलसीपुर मेट्रो कलेज, ग्लोबल स्कुल अफ ल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल तथा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्ले, काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका डीन डा. शिवकुमार गिरी तथा भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानकी डा. रीता थापाले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन सत्रमा विश्वविख्यात मानव अधिकार अधिवक्ता तेजश्री थापाको जीवन र न्यायका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान समेटिएको छोटो भिडियो प्रस्तुत गरिएको थियो।

त्यस अवसरमा द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (International Criminal Court) मा इन्टर्नशिप गरिरहेकी पीएचडी तहकी कानुन विद्यार्थी माया थापा ओ’फ्लानले भिडियो सन्देशमार्फत मन्तव्य व्यक्त गर्दै सहभागी विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कानुनी अभ्यासको महत्त्वबारे प्रेरित गर्नुभएको थियो।
तेस्रो संस्करणको प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ लको टोलीले उपाधि जित्दा नेपाल स्कुल अफ लको टोली उपविजेता बनेको थियो। त्यसैगरी, उत्कृष्ट वक्ता (Best Speaker) को उपाधि नेसनल ल कलेजकी ऋतिका कुमारी मण्डलले प्राप्त गर्नुभयो भने गण्डकी विश्वविद्यालय उत्कृष्ट मेमोरियल (Best Memorial) को उपाधिबाट सम्मानित भयो।

प्रतियोगिताको फाइनल चरणको निर्णायक मण्डलीमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्द मोहन भट्टराई, प्रा. डा. गीता संग्रौला पाठक तथा वरिष्ठ अधिवक्ता राजु प्रसाद चापागाईं रहनुभएको थियो।
यस गरिमामय प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौँ विश्वविद्यालय स्कुल अफ लको डिबेटिङ एण्ड मुटिङ सोसाइटी (KUSOL Mooting and Debating Society) ले सम्हालेको थियो। सोसाइटीका ऋतिका शाह, श्रितिका पोखरेल, सदिक्षा थपलिया र सुप्रिया खड्कासहितको टोलीले कार्यक्रम व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो।

अन्तर्राष्ट्रिय मानवीय कानुनमा आधारित यस मुटकोर्ट प्रतियोगिताले विद्यार्थीहरूको कानुनी तर्कशक्ति, अनुसन्धान क्षमता र वकालत कौशल अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ। सहभागीहरूका अनुसार यो प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नरही न्याय, विवेक र मानवताका सार्वभौमिक सिद्धान्तलाई पुस्तान्तरण गर्ने एक जीवित आन्दोलनका रूपमा अघि बढिरहेको छ।



