रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित
केके मानन्धर
रामेछापको सुनापति गाउँपालिकास्थित भिरकोटमा शिक्षासेवीहरु सम्मानित भएका छन् । श्री बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा शिक्षा क्षेत्र विकासमा सहयोग र सहकार्य गरेका महानुभावहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये समाजसेवीद्वय पुताली तामाङ र देवेन्द्र मानन्धर, शिक्षासेवी दल बहादुर बल, काभ्रेको बनेपास्थित करुणामय मानव सेवा विकास समाजदेखि शिक्षक, कलाकार तथा विद्यार्थीहरु छन् । शिक्षा विकासमा बौद्धिक, भौतिक, आर्थिक सहकार्य गरेका उहाँहरुलाई विद्यालय सन्चालनको ५० वर्ष पुगेको सन्दर्भमा सम्मान गरेको हो । दुर्गम गाउँका नागरिकहरुलाई २०३१ सालदेखि श्री बाल माविले निरन्तर शिक्षाको ज्योति प्रदान गर्दैआएको छ ।
तामाङ र नेवारहरुको सघन बसोबास रहेको भिरकोटमा अवस्थित विद्यालयले सैद्धान्तिक र व्यवहारिक शिक्षा दिंदैआएको प्रधानाध्यापक चक्र बहादुर मानन्धरले जनाउनुभयो । देशका कर्णधार सन्ततीलाई उज्यालो भविष्यतिर दो¥याउनको लागि गुणस्तरीय शिक्षामार्फत ५० वर्षदेखि निरन्तर सेवा दिंदै आएको उहाँले दाबी गर्नुभयो । जिल्लाकै उत्कृष्ट विद्यालय मध्येकै श्री बाल माविले पछिल्लो समय थुप्रै शैक्षिक उपलब्धि हासिल गरेको मानन्धरले बताउनुभयो ।

हुनपनि मोफसल ग्रामिण जिल्लामा पाँच दसक अघिसम्म कमै मात्र विद्यालय सन्चालनमा थियो । माध्यमिक शिक्षाको लागि सदरमुकाम वा शहर पस्नुपर्ने भिरकोटे नागरिकको बाध्यतालाई श्री बाल माविले पूर्ति गर्दैआएको देखिन्छ ।

सांगीतिक र सांस्कृतिक टोलीले स्वागत गरेको स्वर्णजयन्ती समारोहको लागि राजधानी काठमाडौं तथा छिमेकी जिल्लाबाट पाहुनाहरु भिरकोट पुगेको थियो । समारोहमा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, सुनापति– ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर, पालिकाका शिक्षा शाखा प्रमुख कमल बम, लेखा शाखाका विनोद चौलागाइँ, वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक–शिक्षिका, बुद्धिजीवी, शिक्षाप्रेमी, अभिभावक, प्रहरी, पत्रकार तथा विद्यार्थीहरूको सहभागिता थियो ।

स्काउटले स्वयंसेवा गरेको समारोहमा ताम्बा संघका केन्द्रीय उपाध्यक्ष सतलमान तामाङको टोलीले परम्परागत गीतको प्रस्तुति दिएको थियो । स्थानिय मानन्धरहरुको टोलीले मौलिक बाजाको प्रस्तुति दिंदा विद्यार्थी भाइबहिनीहरूले नृत्य तथा शैक्षिक प्रदर्शनी गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई माइकल लामाले सन्चालन गर्नुभएको थियो ।



