मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती
काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ ।
परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सिके राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताए ।
डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताए ।
जेनजी आन्दोलनपछि आफूले मधेश खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको उनले बताए । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताए ।
मधेश आन्दोलनले ल्याएको समानुपातिक निर्वाचन प्रणालीले नै मधेशी, दलित, मुस्लिम, जनजातिहरु संसदसम्म पुगेको र समानुपातिक व्यवस्थाकै कारणले मधेशी, आदिवासी जनजाति, दलितलगायतका समुदायले मुलुकमा आरक्षण पाएको उनको भनाइ थियो ।
जेनजी आन्दोलनपछि नेपाली सेनाले देशको राजनीति आफ्नो हातमा लिएर सम्झौता गर्दा मधेशले कुनै ठाउँ नपाएको उनले बताए । उनले नेपाली सेनाले मधेसीलाई प्रधानमन्त्री किन नबनाएको भनी प्रश्न पनि गरे । उनका अनुसार मधेशबाट आवाज नउठेको भए जेनजी आन्दोलनपछि संघीयता पनि समाप्त हुन्थ्यो ।

तर पछिल्लो समय जेनजीले सरकारसँग गरेको सम्झौतामा मधेसी, थारु, आदिवासी जनजाति र दलितलगायतलाई सम्बोधन गरेकोले त्यो सकारात्मक रहेको उनको भनाइ थियो ।
त्यसैगरी राजनीति विश्लेषक सिके लालले जेनजी आन्दोलनमा मधेस कतै नदेखिएको बताए ।
विचार मन्थन कार्यक्रममा बोल्दै लालले जेनजी आन्दोलनमा मधेसी सहभागी भएपनि त्यसबाट केही नपाएको बताए । जेनजी र सरकारबीच भएको सम्झौतामा मधेसी दर्शक भएर मात्र बसेको बताउदै उनले मधेसीलाई अझै नेपाली नमानेको बताए ।
देशको अवस्था मधेशको अनुकूल नरहेको उहाँको भनाइ थियो । उनले अनुकूलताका लागि प्रतीक्षा गर्नबाहेक केही उपाय नरहेको बताए । नवयुवाले परिवर्तन गर्न चाहेका छन् तर त्यस्तो परिवर्तन कस्तो हुन्छ त्यो सोचनीय कुरा रहेको बताउँदै विश्लेषक लालले सन् १९९० मा जे अवस्था थियो त्यस्तै अवस्था अहिले पनि रहेको बताए ।
वर्तमान संविधान मधेशीको पक्षमा नरहेको बताउदै उहाँले यो संविधान पुनर्लेखन नभएसम्म वा संशोधन नभएसम्म मधेसीको अधिकार सुरक्षित नहुने बताए । आगामी निर्वाचनबाट पनि मधेसीहरुलाई आफ्नो अधिकार प्राप्त नहुने भन्दै लालले अधिकारका लागि नयाँ ढंगले संघर्ष गर्नुपर्ने बताए ।
मधेसमा असल नेतृत्वको आवश्यकता छ र त्यस्तो नेतृत्व स्थापित हुन केही समय लाग्ने बताउदै उहाँले नेतृत्व र नेता एकदिनमा नजन्मिने बताए ।
त्यसैगरी अर्का विश्लेषक तुलानारायण साहले हरेक आन्दोलनले राज्यसँग सम्झौता गर्ने गरेको तर ती सम्झौताहरुले मधेसलाई गौण राख्ने गरेको बताए ।
उनँले हरेक आन्दोलनको नेता हुन्छ तर जेनजी आन्दोलनको नेता नै रहेको बताउनुभयो । जेनजी आन्दोलनको एजेन्डा सुशासन र पुस्तान्तरका लागि भएको थियो तर त्यहाँ मधेस कहाँ छ भनी प्रश्न उठेको बताउदै साहले जेनजी आन्दोलनपछि मधेसी दलमा पुस्तान्तरको कुरा नउठेको बताए ।
मधेस आन्दोलनले काठमाडौंमा आफ्नो स्थान खोजेको उहाँले बताउनुभयो । तर जेनजी आन्दोलनपछि भएको सम्झौतामा मधेस कतै पनि नरहेको उनको भनाइ थियो ।
यो आन्दोलनको अदृष्य एजेन्डा भनेको संघीयता खर्चिलो भयो भन्ने हो, यदि मधेशमा त्यसको विरोध नभएको भए संघीयता नै प्रभावित हुने अवस्था आएको उनको भनाइ छ । मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती रहेको उनले बताए ।
बहुमुखी प्रतिभाका धनी आनन्द गुप्ताले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका प्रवक्ता दीपेन्द्र चौबेले विद्वान वक्ता तथा दर्शकहरुलाई स्वागत गरेका थिए ।
मधेशी एकता समाजका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले विषय प्रवेश गराउँदै समाजको योगदान र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता राकेश मिश्रा, विश्लेषक राजेश विद्रोही, मिथिला चित्रकार रन्जु यादव, जेनजी नेता शिव यादव, अभियन्ता आभास गुरु, युवा अभियन्ता माजिद अन्सारी र फिल्म अभिनेत्री सरिता साहले पनि आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी मधेशी एकता समाजकी नेपाल संयोजक डा. बबी सिंह यादवले सबैलाई धन्यावाद दिनुका साथै मधेशको संघर्ष, एकता र भविष्यबारे कविता सुनाएका थिए ।

