रिलायन्स फाइनान्सको धादिङ शाखा धादिङबेसीमा स्थानान्तरण

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो गोरखा जिल्ला आरुघाट बजारस्थित शाखा कार्यालयलाई धादिङ जिल्ला धादिङबेसीमा स्थानान्तरण गरेको छ । नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन रिलायन्स फाइनान्स लि.का अध्यक्ष कुश प्रसाद मल्लीले गरेका हुन् ।
संस्थाले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६ साल मंसिर १० गते प्राप्त गरेको हो । सो इजाजत पश्चात मंसिर १८ गतेदेखि रिलायन्स फाइनान्सले आफ्नो वित्तीय सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो ।
यस संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–१, कमलादीमा रहेको आफ्नै भवनमा सञ्चालनमा छ । हालसम्म रिलायन्स फाइनान्सले देशभर २२ वटा शाखा कार्यालयहरू स्थापना गरी सेवा विस्तार गरेको छ, जसमा न्यूरोड र सितापाईला (काठमाडौं), ईमाडोल (ललितपुर), नारायणघाट र टाँडी (चितवन), महेन्द्रपुल (पोखरा), बेशिशहर (लमजुङ), बनेपा (काभ्रे), धादिङबेसी (धादिङ), चारआली, दमक, विर्तामोड र धुलाबारी (झापा), भैरहवा, मणीग्राम, बुटवल (रुपन्देही), धनगढी र अत्तरिया (कैलाली), महेन्द्रनगर (कञ्चनपुर) र कोहलपुर (बाँके) समावेश छन् ।
“वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ रिलायन्स फाइनान्सले आफ्ना ग्राहकहरूलाई सहज, पारदर्शी र विश्वासिलो वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न कर्जा सुविधा र निक्षेप योजनाहरूमा आकर्षक ब्याजदर प्रदान गर्दै आफ्नो बजार उपस्थिति सुदृढ बनाउँदै आएको छ ।
निक्षेप र कर्जाका अतिरिक्त, संस्थाले आफ्ना सेवाग्राहीहरूलाई विविध आधुनिक वित्तीय सेवाहरू जस्तै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा, रेमिट्यान्स सेवा, सी–आस्वा (C-ASBA), QR पेमेन्ट र कार्ड सेवा, डिजिटल फाइनान्सियल सोलुसन र ई–बैंकिङ सुविधा, डेबिट तथा क्रेडिट कार्ड सेवा, बिभिन्न बीमा तथा लगानीसम्बन्धी सुविधा प्रदान गर्दै आएको छ ।
रिलायन्स फाइनान्सले नेपालभरका आफ्ना शाखा कार्यालयहरू मार्फत ग्राहकलाई आधुनिक प्रविधिमा आधारित सहज र दिगो वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।