स्रोत जुटाउन सरकारले गठन गर्यो तीन सदस्यीय कार्यदल
काठमाडौं । अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
भौतिक पूर्वाधारको पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक बजेटको स्रोत खोज्न मन्त्रालयले कार्यदल गठन गरेको हो ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन् ।
त्यस्तै, मन्त्रालयले साना तथा टुक्रे आयोजनामा विनियोजन भएको बजेट कटौती गर्दा १ खर्ब रुपैयाँ जुट्ने जनाएको छ । यसअघि पदभार ग्रहण गर्दै गर्दा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले समेत टुक्रे आयोजनमामा केन्द्रीत बजेट कटौती गर्दा १ खर्ब रुपैयाँ जोगिने बताएका थिए ।
