एनआईसी एशियाका सञ्चालक संघाई सीआईपी सम्मानबाट समानित, व्यवसायिक योगदानको कदर

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति’ (सीआईपी) सम्मानबाट विभूषित भएका छन्। मुलुकको वाणिज्य, निर्यात तथा समग्र आर्थिक प्रणालीमा पुर्याएको योगदानको कदरस्वरूप संघईलाई सरकारले आषाढ ३२ गते एक विशेष कार्यक्रममार्फत सम्मान गरेको हो।
नेपाल सरकारद्वारा प्रत्येक वर्ष मुलुकको आर्थिक विकासमा विशिष्ट भूमिका निर्वाह गर्ने व्यवसायिक व्यक्तिहरुलाई सीआईपी मान्यता प्रदान गरिँदै आएको छ। सोही क्रममा संघईको योगदानलाई मूल्याङ्कन गर्दै उनलाई यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो।
सीआईपी सूचीमा पर्नु व्यवसायिक प्रतिष्ठा र सामाजिक उत्तरदायित्व दुबैको मान्यता हो भन्ने मानिन्छ। संघईले नेपाली व्यापार, विशेषतः निर्यात प्रवर्द्धन र बैङ्किङ क्षेत्रको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह गरेका छन्।
उक्त सम्मानप्रति प्रतिक्रिया स्वरूप एनआईसी एशिया बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चालक संघईप्रति बधाई व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सञ्चालक संघईलाई नेपाल सरकारले सीआईपी जस्तो महत्वपूर्ण मान्यता दिई सम्मानित गर्नु हामी सम्पूर्ण एनआईसी परिवारका लागि गर्वको विषय हो।”
बैंकका अनुसार, संघईको दृष्टिकोण, नेतृत्व र व्यवसायिक योगदानले बैंकको रणनीतिक विकासमा महत्वपूर्ण प्रभाव पारेको छ। अबको दिनमा पनि उनले राष्ट्रको आर्थिक उन्नतिमा अझ सशक्त भूमिका खेल्ने अपेक्षा बैंकले लिएको छ।
नेपाल सरकारद्वारा सञ्चालित सीआईपी कार्यक्रम नेपालको निजी क्षेत्रसँगको सहकार्यको प्रतीकस्वरूप लिइने गरिन्छ। यसले देशभित्र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।