दुर्गेशको नयाँ गीतले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड
अमेरिकामा ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो
काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ ।
रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।
गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।
दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो । यो समाचार लेख्दासम्म दुर्गेशको गीतलाई १६ लाख भन्दा धेरैपटक हेरिएको छ । यो गीत रिलिज अघिदेखि नै चर्चामा थियो ।
यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । यो गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ । यसअघि कुनै पनि नेपाली गीत ‘संयुक्त राज्य अमेरिका’को ट्रेन्डिङमा आउन सकेका थिएनन् ।
अमेरिकामा यो गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ । त्यो पनि संगीत खण्डतर्फ होइन, रियल टाइम ट्रेन्डिङमा ।
यो समाचार लेख्दासम्म यो गीत अस्ट्रेलियामा ट्रेन्डिङ १ मा, क्यानडामा १७, युएईमा ३, कतारमा २, कुवेतमा ५, बेलायतमा ८ र नेपालमा संगीत खण्डतर्फ पहिलो स्थानमा उक्लिएको छ ।
सज्जनराज वैद्यको गीत ‘बेहुली’लाई पनि उछिनेर यो गीत नेपालको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको हो ।
यदि यो ट्रेन्डिङ कायम रहे, यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन मुस्किल छैन ।

