हिम स्टार उर्जाले जेठ ३० गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ जारी गर्ने
काठमाडौं । हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको छ ।
अर्थात, स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ८६ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा.विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ९३ हजार २५० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ ।
यस आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । स्थानीयले छिटोमा असार १३ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा असार गतेसम्म आवेदन दिन मिल्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने असार १३ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।
इक्रम नेपालले हिम स्टार उर्जाको आइपीओलाई इक्र एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।


