राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त, को हुन डा. विश्व पौडेल ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाएको छ ।
मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । राष्ट्र बैङ्कमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।
प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
यो बिचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा अघि सारेका थिए । सत्ता साझेदार दलको लामो माथापच्चीपछि अन्ततः गभर्नर नियुक्ति हुन सकेको हो ।
को हुन डा. विश्व पौडेल ?
पौडेल २०३२ सालमा चितवनको रत्ननगर, शान्ति चोकमा जन्मेका हुन्। उनले आफ्नो बाल्यकाल र स्कुले शिक्षा चितवनकै टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट पूरा गरे। उनी पढाइमा सधैं अब्बल थिए। सधैं प्रथम स्थान हासिल गरे।
२०४७ सालको एसएलसी परीक्षामा उनले गणितमा शतप्रतिशत अंक ल्याएका थिए। उनी देशभरका चार उत्कृष्ट विद्यार्थीमध्ये एक बने। उनले काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) बाट उच्च माध्यमिक शिक्षा (आइएससी) पूरा गरे। त्रिभुवन विश्वविद्यालयको बिएससी प्रवेश परीक्षामा पनि सर्वाधिक अंक ल्याए।
पौडेलले जिआरई गर्दा अंग्रेजी र गणित दुवै खण्डमा पूर्णांक (८००/८००) ल्याएका थिए।
डा. विश्व पौडेल एक अर्थशास्त्री हुन् । उनले चीनको शाङ्हाईस्थित विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, त्यसपछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) हासिल गरेका थिए।
उनको पेशागत यात्रा विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता संस्थामा नेपाल प्रतिनिधिका रूपमा समेत काम गरेका छन्। साथै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अर्थ मन्त्रालयमा नीति सल्लाहकारका रूपमा पनि काम गरेका थिए।
राजनीतिक रूपमा, उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए, तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबाट पराजित भए। त्यसपछि उनले शिक्षण क्षेत्रमा ध्यान केन्द्रित गर्दै काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गरिरहेका थिए।
उनको नेतृत्वमा राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति व्यवस्थापन, महंगी नियन्त्रण, वित्तीय स्थायित्व, डिजिटल कारोबारको प्रवर्द्धन जस्ता विषयहरूमा काम गर्ने अपेक्षा गरिएको छ।