त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण |
काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ । डा. रमेश सिंह भण्डारीको टोलीले गत शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा शुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।
अब विदेश जानुपर्ने बाध्यता पर्दैन ।
यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले बताएका छन्। भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।
कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो । ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए । वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारी बताउँछन्। सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उनले बताए ।
सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. सिंहले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थालेका थिए । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरेलगत्तै उनी आवश्यक तालिम लिन अष्ट्रेलिया पुगे । सन् २०१५ मा अष्ट्रेलियाबाट फर्केपछि भण्डारी प्रत्यारोपणको टिम बनाउनतिर लागे ।
आवश्यक जनशक्ति, तालिम र आवश्यक सामान तयार पार्न झन्डै २ वर्ष लाग्यो । त्यसपछि ‘सेट अप’ तयार भयो। १२ करोडभन्दा बढीको लगानीमा आवश्यकता अनुसारको ‘सेट अप’ तयार भएको थियो ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपणको लागि आवश्यक सहयोग गरेका थिए । अहिले प्रत्यारोपणको लागि भारतस्थित एपोलो अस्पतालको टिमले सहयोग गरेको छ ।
Visited 2 times, 1 visit(s) today


