कलङ्की–कोटेश्वर सडकमा सवारीको गति नाप्न थालियो, प्रतिघण्टा ५० किमीमाथि चलाउन नपाइने |
काठमाडौं । नवनिर्मित कलंकी–कोटेश्वर सडक खण्डमा सवारी तिव्र गतिमा चलाउन नपाइने भएको छ । तिव्र गतिमा सवारीसाधन हाकेकै कारण दिन प्रतिदिन दुर्घटना बढिरहेको भन्दै ट्राफिक प्रहरीले गति सीमा निर्धारण गरेको छ ।
ट्राफिक महाशाखाका अनुसार आठ लेनको करिव साढे १० किमी खण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा गति सिमा तोकिएको छ । सर्भिस लेनमा २० किमी प्रतिघण्टा तोकिएको छ ।
जेठ २० गतेदेखि नै लागु गरेर सवारीसाधनको गति मापन भैरहेको ट्राफिक महाशाखाले जानकारी दिएको छ । तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक जरिवाना र कारबाही हुने जनाइएको छ ।
यो सडकमा चार लेन मुख्य र दुईतिर दुई∕दुई सर्भिस लेन रहेका छन्। यो सडक पैदल यात्रुमैत्री छैन । मेडियन, पर्याप्त ओरहेड ब्रिज, जेव्राक्रसिङ नहुँदा दुर्घटना बढेको छ ।
सडक विभागले अध्ययन गरेर यो सडकलाई पैदल यात्रुमैत्री र सुरक्षित बनाउनका लागि काम शुरु गर्ने तयारी गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


