एम्सको आयोजनामा ‘अभियन्ता—२६’ हुँदै, यस्ता छन् कार्यक्रम
काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एमईएस) को आयोजनामा ‘अभियन्ता–२६’ हुने भएको छ ।
‘अभियन्ता–२६’ अन्तर्गत मुख्य कार्यक्रम डिसेम्बर ७ र ८ अर्थात् आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय परिसरमा हुनेछ । त्यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
एमईएसका अध्यक्ष आदर्श श्रेष्ठका अनुसार नोभेम्बर २८ देखि ३० (मंसिर १२ देखि १४) सम्म अल नेपाल गो–कार्ट प्रतियोगिता आयोजना हुनेछ । त्यस्तै, डिसेम्बर ४ (मंसिर १८) मा वर्कसप अन टुल्स, डिसेम्बर ६ र ७ (मंसिर २० र २१) मा ट्रेनिङ अन ट्रेनर, डिसेम्बर ११ (मंसिर २५) मा इस्केप रुम, डिसेम्बर १३ र १४ (मंसिर २७ र २८) मा मेकाथन, मेक पोडकास्ट तथा डिसेम्बर १७ र १८ (पुस २ र ३) मा क्याड प्रतियोगिता आयोजना गरिनेछ ।
कार्यक्रम संयोजक निर्भिक भण्डारीका अनुसार ‘अभियन्ता–२६’ अन्तर्गत नै अक्टोबर २ (असोज १६) मा मेक–रन सम्पन्न भइसकेको छ ।
‘अभियन्ता–२६’ अन्तर्गतका कार्यक्रमहरू विश्वविद्यालयका विद्यार्थी, उद्यमी–व्यवसायी तथा अन्य सर्वसाधारणसहित ३५ सयभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममार्फत मेकानिकल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी प्रतिष्ठित उद्योग तथा व्यवसायमा आफ्नो पहुँच पुर्याउन सक्ने विश्वास आयोजकले लिएको छ ।



