काण्डला बन्दरगाह नेपालका लागि खुला, नेपाली वनस्पति घिउ तथा तेल उद्योगलाई ठूलो राहत
काठमाडौँ । नेपाली वनस्पति घ्यू तथा तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा खाद्य तेल आयात गर्न पाउने भएका छन्। प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा उद्योगीहरूको लामो समयदेखिको माग सम्बोधन भएसँगै नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले उक्त निर्णयको हार्दिक स्वागत गरेको छ।
संघका अनुसार अब स्वदेशी प्रशोधित खाद्य तेल उद्योगका प्रमुख कच्चा पदार्थहरू ‘क्रुड सनफ्लावर आयल’ र ‘क्रुड सोयाविन आयल’ काण्डला बन्दरगाह हुँदै भित्र्याउन बाटो खुलेको हो।
यसअघि भारतको बजबज (कोलकाता) र हल्दिया बन्दरगाहमा मात्र निर्भर रहनुपर्दा नेपाली उद्योगहरूले उच्च ढुवानी खर्च, समयको बर्बादी तथा आयात लागतका दृष्टिले विभिन्न कठिनाइ भोग्दै आएका थिए। उक्त समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगड लगायतको प्रतिनिधिमण्डलले सरकारका सम्बन्धित निकायहरूमा निरन्तर पहल तथा माग राख्दै आएको थियो।
काण्डला बन्दरगाहको उपलब्धताले नेपाली उद्योगहरूलाई वैकल्पिक आयात मार्ग प्रदान गर्नुका साथै लागत न्यूनीकरण, आपूर्ति सहजता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ।
भारतसँगको उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाएर समाधानको मार्ग प्रशस्त गरेको भन्दै संघले प्रधानमन्त्रीप्रति विशेष आभार व्यक्त गरेको छ। साथै, यस कार्यमा सहयोग पुर्याउने सरकारी निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सरकार–निजी क्षेत्र सहकार्यले निरन्तरता पाउने अपेक्षा संघले गरेको छ।




