आखिर हामी छिमेकी पो रहेछौँ !
कृष्णमणि पराजुली
लाग्छ –जीवन जन्म देखि मृत्युसम्मको यात्रा हो । यो यात्रा एक प्रकारको डोरी हो । डोरीमा धेरै पोया हुन्छन् । कुनै एक मात्र पोयो चुडियो भने पनि जीवन सरलरेखामा हुँदो रहेनछ । त्यसैले त जीवनमा आरोह अवरोह आउँदो रहेछ ।
प्राणी मध्येमा मानिस सर्वश्रेष्ठ मानिन्छ । ऊ बुद्धि, विवेक, ज्ञान, सीप आदि कुराहरुले भरिएको हुन्छ । त्यसैले गर्दा ऊ आफूलाई कहाँ आनन्द हुन्छ ? कहाँ सजिलो हुन्छ ? कहाँ सुख हुन्छ खोज्दै हिँडेको हुन्छ । केवल सुख र आनन्दको लागि मात्र । अरु उसका लागि केही हुँदैनन् ।
सायद यी पंक्ति सबैमा लागू हुन्छन् र मलाई पनि लागू हुन्छन् । तपाइँलाई पनि । अवसर मिलेसम्म हामी सुख र सुविधाकै लागि भाँैतारिएका हुन्छौंँ । किन यसरी भौतारिएका हुन्छौं त ? हामीले आफैलाई प्रश्न गर्नु पर्दछ र उत्तर पनि आफैंले दिनु सक्नु पर्दछ ।
यो पृष्ठभूमि मैले आफैंलाई उल्लेख गरेको हुँ । तपाईँजस्तै म पनि सुख र आनन्द खोज्न भौतारिएको छु । म पहाडिया मानिस संयोगले काठमाडौँ छिरेको । लामो समयसम्म यही काठमाडौँलाई कर्मथोलो बनाएको छु । जन्मथलो मेरो लागि छोटो भयो । लामो त काठमाडौँ नै हुन गयो । यद्यपि माया भने आफ्नै जन्मथलो को हुँदो रहेछ ।
अहिले मलाई जीवन रूपी डोरीको एउटा पोयो फुस्किएको जस्तो लागेको छ । जन्मथलो छोड्दा एउटा पोयो फुस्कियो । कर्मथलो छोड्दा अर्को पोयो फुस्किँदैछ । जन्मथलो र कर्मथलो छोड्दा पनि आफ्नै धर्तीमा रहिन्छ भने त्यति नरमाइलो नहुन सक्दछ । तर, आफ्नो धर्ती छोडेर अज्ञात गन्तव्यतिर गइन्छ भने जीवनमा आनन्दभन्दा चिन्ता, पीर, पीडा हुनु स्वाभाविकै हो ।
जब मैले आफ्नो धर्ती छोड्दै हुन्छु मनमा अनेक कुरा खेल्न थाल्दछन् । किन छोड्दैछु ? के कारणले छोड्दैछु ? कहाँ जाँदैछु ? आदि इत्यादि प्रश्नहरु अनुत्तरित नै हुन्छन् । मलाई यति मात्र थाहा छ म निश्चित गन्तव्य तर्फ जाँदैछु ।
हवाई जहाजको भर्याङ्मा पैताला राख्न मलाई मनै लाग्दैन । यद्यपि राख्नु बाध्यता छ । लाग्छ –मेरो पैताला मेरै धर्तीले तानिरहेको छ । चुम्बकले तानेको जस्तो गरी । मैले त्यो चुम्बकलाई जसरी भएपनि तोड्नु नै थियो । त्यसैले शरीरको सबै बल लगाएर चुडाली दिएँ । अनि हवाई जहाजको भर्याङ्को पहिलो खुड्किलोमा आफ्नो पैताला राखेँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जब हवाइजहाज सबै यात्रुलाई थर्काउँदै दक्षिणतर्फ लाग्यो । अनि मेरो मनले भने ठाउँ छोडिसकेको थियो । मनमा एक प्रकारको निराशा आयो । मेरो जन्मभूमि र कर्मभूमिले मलाई के भनिरहेको होला ! म कल्पना गर्छु – यो जन्मभूमिले, यो कर्मभूमिले, के दिएन मलाई ! दुई चार अक्षर सिकायो । जीवन चलाउन सिकायो । सालनालदेखि जीवनको उत्तरार्धमा आइपुग्दा धेरै कुरा यही धर्तीले दियो । अहिले यही धर्तीलाई छोडेर किन जान पर्यो मलाई भन्नेजस्ता अनेक विचारले झनै मेरो मनमा विग्रह आउन थाल्यो ।
हवाई जहाज आकाशमा उठ्दै गर्दा मलाई लाग्छ म आफ्नै धर्तीमा छु । मलाई याद छ केही समयसम्म मैले मेरो मेरो धर्तीका डाँडापाखा, हिमाल, तराई चिन्दै थिएँ । आकाश आफ्नै थियो । धर्ती आफ्नै थियो ।
त्यसबेलासम्म मलाई म आफ्नै धर्तीमा छु र यो आकाश पनि मेरो आफ्नै हो भन्ने ठानेको थिएँ । तर, छोटो समय भित्रै जहाजले कहाँ पुर्यायो कहाँ ? मलाई थाहै भएन । अनि मनभित्र अनेक तरङ्गका आँधिबेरी मडारिन थाले । मन अशान्त भयो । शरीरमा चिटचिट पसिना आउन थाले । काँडा उम्रिन थाले । हो, अब मैले राम्रैसँग मेरो जन्मथलो ,मेरो कर्मथलो र मेरो देश छोडि सकेको छु ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छोडेको करिब ४ घण्टापछि जहाज चिनियाँ भूमिको युनाओ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । नौलो ठाउँ र चिनिया भाषाको कारणले गर्दा निश्चय नै केही असहज भयो । मन कत्ति पनि रमाएन । मलाई लाग्थ्यो म मेरो देशमा नभए पनि नजिकको देश चीनमा छु । गाउँमा सबैको घर नजिक भएजस्तो मेरो देशसँग जोडिएको यो चिनिया देश हो । यो देश त मेरो घरसंगै जोडिएको जीवराज चौँलागाइँको घर जस्तै हो । छिमेकि देश । किन नरमाइलो मान्ने ! यति कुरा मनमा आउँदा पनि मन खुसी भयो । अहिले आफ्नो देश नभए पनि छिमेकी देश मा छु नि भनेर एकैछिनको लागि भने पनि मन शान्त भयो । चीन त छिमेकी पल्लाघरे चौँलागाईँको घर जस्तै त हो भन्ने लाग्यो ।
१० घण्टा चिनिया विमानस्थलमा रहँदा पनि मन त्यति आत्तिएन । किनभने त्यो ठाउँ मेरो लागि त्यति टाढा थिएन । टाढा भएपनि आखिर छिमेकी नै थियो । गाउँमा हुने ओल्लो घर र पल्लो घर जस्तो । अरु यात्रुहरु भन्दा मैले आफूलाई धेरै भाग्यमानी देखेँ । उनीहरु आफ्नो देश छोडर धेरै पर आइसकेका छन् । उनीहरुले न आफ्नो देश देख्न सकेका छन् न त छिमेकी देशमा नै रहेका छन् । यस अर्थमा मैले आफूलाई धन्न सम्झेको थिएँ । मेरो घरको नजिकै रहेको अर्को छिमेकीको घरमा बसीरहेको छु ।
कतिपय यात्रु लामो समयसम्म ट्रान्जिटमा बस्दा उकुसमुकुस भएका थिए समय नघर्कियोमा । उनीहरु पट्यारलाग्दो समयको लागि चिन्तित थिए भने म छिटो समय नघर्कियोस् भन्नेमा थिएँ । किनभने म छिमेकी देशको नजिकैको अर्को घरमा थिएँ ।
समयले नपर्खिनु स्वाभाविकै हो । छेन्दु विमानस्थलबाट क्यालिफोर्नियाको लस एन्जेल विमानस्थलमा प्रस्थान गर्ने समयको उद्घोष भयो । सबै यात्रु विमान चढ्ने आतुरमा थिए । सबैको दौडधुप विमान तर्पm नै थियो । हामी पनि ६ जनाको टोली आफ्नो झोला डोर्याँउँदै छिटो छिटो विमानतर्फ नै लाग्यौँ । मलाई भने कताकता चिनियाँ भूभागसम्म आफ्नै देशको झल्को लागेको थियो किनभने भाषा मात्र भिन्न थियो । अनुहार भेषभुषामा खासै भिन्नता थिएन । नेपालसँग जोडिएकोले पनि नितान्त बेग्लै देशमा छु भन्ने कति पनि भावना थिएन ।
जब म चिनीया भूभाग छोड्दै थिएँ । लाग्यो मैले मेरो जन्मभूमि छोडेँ । गाउँ छोडेँ । कर्मथलो छोडेँ र अनि आफ्नो देशै छोडेँ । चिनिया भूभाग आउँदा विदेशी मुलुक भएपनि छिमेकी देश थियो । यो पनि छोडेर निकै टाढाको देश अमेरिका जान लाग्दा ममा भिन्न भावना विकास भयो । जे भएपनि मेरो गन्तव्य अमेरिका नै थियो । त्यसैले ह्यान्डक्यारी घिसार्दै ठूलो हवाई जहाज भित्र ५० केजीको म सानो मान्छे प्रवेश गरेँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै मन रमाएको थिएन । अमेरिका जानु न मेरो रहर थियो । न कुनै काम नै थियो । न कुनै अध्ययन न कुनै भेटघाट, न कुनै वाध्यता । बिना उद्देश्य किन यात्रा गर्ने जस्ता प्रश्न खेलाउँदा खेलाउँदै सम्झीँ अमेरिकामा मेरा आफ्नै सन्तान छन् । किन मैले नरमाइलो मान्ने ? जीवनको उत्तरार्धमा साथ खोज्ने भनेको नै आफ्नै सन्तानसँग नै त हो ।
मानिसले आफ्नो जन्मथलो छोड्न चाहँदैन । त्यस्तै कार्यथलो पनि । देश त झनै चाहँदैन किनभने देश छोड्दा उसले आफ्नो धर्ती बिर्सनुपर्छ । आफ्नो भाषा बिर्सनुपर्छ । अनि आफ्नो भेषभुषा संस्कृति तथा परम्परा पनि । त्यसरी नै हरेक हराएका हुन्छन् । तर, मेरो अमेरिका बसाई यो सबै बिर्सेर होइन । यी सबै कुरा साथै जाने हुनाले म आफ्नै देशभित्र छु भन्ने लागेको छ । अमेरिकी भूमिमा अवतरण हुनासाथ म एकैछिन अलमलमा परेको हुन्छु । ब्यागेज क्लेम र इमिग्रेसन जाँचमा कुनै समस्या भएन । सजिलोसँग जाँच पास भएकोले खुसी पनि लाग्यो । त्यसपछि हामी आफ्नो गन्तव्य तिर लाग्यौ । केही घण्टाको गुढाइपछि आफ्नै घरमा पुगियो । हवाईजहाजको लामो यात्रा, अनिद्रा, दौडधुप, खानपिन आदिको कारणले शिथिल भएको शरीरले बल्ल आराम गर्ने मौका पायो ।
म जस्ताको लागि भने अमेरिका त्यति राम्रो होइन रहेछ । किन भने जो कोहीले पनि बहुमूल्य समय सुतेर बिताउने होइन । केही न केही गर्नु नै पर्दछ । बिरानो ठाउँ भएकोले न कुनै साथी छन् न समय बिताउने गतिविधि नै गर्न सकिन्छ । न त कुनै व्यवसाय नै सञ्चालन गर्न सकिन्छ । यस्तो अवस्थामा हामीहरूको लागि यो सम्पन्न देश कुनै कुराले पनि अनुकूल हुँदो रहेनछ । असम्पन्न देशजस्तो हुँदो रहेछ ।
कोही साथी भन्छन् – एक महिना बिताउन पनि कठिन भयो अमेरिका । कसरी वर्षौं दिन बिताएका होलान् अरुले । लाग्छ– मलाई पनि यस्तै भएको छ । त्यति धेरै पैसा खर्च गरेर जाने तर छोटो समयमा नै फर्किँदा पनि त के लाभ हुन्छ र ! यस्तै जोड घटाउको हिसाब गर्दै म अहिले छ महिना बिताउने विचारमा छु ।
म भित्री मनबाटै विचार गर्छु विश्व एउटै हो । धर्ती एउटै हो । हामी सबै एउटै प्रकृतिका सन्तान हौ ।
संसारभरका हामी सबै मानिस स्वतन्त्र छौँ । हामीमा मानवीय संवेदनशीलता छ । करुणा छ । एकआपसमा भाइचारा छ । यसरी सबै कुरामा समानता र संवेदनशीलता हुँदाहुँदै पनि किन देश–देश र मानिस– मानिस बीच झगडा हुन्छ ! किन यो देश र ऊ विदेश भनेर छुट्याउने ? बुझ्न भने कठिन नै छ ।
यिनै कुरा मनमा खेलाउँदै गर्दा मलाई लाग्छ मेरो घरदेखि अलि पर रहेको चौलागाई कान्छा मेरा छिमेकी हुन् । ती चौलागाईं भन्दा केही तल अर्का माइला चौलागाईंको घर छ । उनी पनि छिमेकी हुन् । यसरी हामी एक घर अर्को घर गर्दागर्दै समुद्रसम्म सबै छिमेकी भएका छौं भने व्यर्थमा यो देश र ऊ देश र यो मान्छे र ऊ मान्छे भनेर किन छुट्याउनु पर्यो र ! आखिरमा विश्व नै एउटा ठूलो छिमेकीको पो रहेछ जस्तो लाग्दछ । अनि म विश्वस्त भएँ ‘हामी सबै छिमेकी पो रहे छौँ’ ।




