कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदै
तिथिको घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।
कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परा देखि नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ । आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ ।
यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाईपूजा भोलि परेको छ । गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मङ्गलबार परेको छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।




