नेपाल आउने पर्यटकको संख्यामा उलटफेर: भारतीयभन्दा अमेरिकी पर्यटक बढी
काठमाडौं । नेपालको पर्यटन बजारमा नयाँ प्रवृत्ति देखिएको छ। परम्परागत रूपमा सबैभन्दा बढी पर्यटक आउनेमा भारतलाई उछिन्दै अमेरिकाले अक्टोबर २०२६ मा नेपालमा सबैभन्दा धेरै पर्यटक पठाउने मुलुकको स्थान हासिल गरेको छ । यससँगै भारतीय पर्यटक आगमनमा उल्लेख्य गिरावट देखिँदा सार्क क्षेत्रको समग्र हिस्सा समेत खस्किएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको १ लाख २८ हजार ४४३ को तुलनामा ३.४ प्रतिशतले बढी हो ।
तथ्यांकअनुसार अक्टोबरमा अमेरिकाबाट १७ हजार ४३७ पर्यटक नेपाल आएका छन्। गत वर्षको यही अवधिमा अमेरिकाबाट १३ हजार २८६ पर्यटक आएका थिए। सेप्टेम्बर २०२६ मा अमेरिकाबाट ८ हजार २९९ पर्यटक मात्र आएकाले एक महिनामै अमेरिकी आगमनमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
यता, भारतबाट आउने पर्यटकको संख्या भने उल्लेख्य रूपमा घटेको छ। अक्टोबरमा १२ हजार ९७ भारतीय पर्यटक नेपाल आएका छन्, जबकि गत वर्षको यही महिनामा यो संख्या १७ हजार २९८ थियो। भारतीय पर्यटक आगमन घटेसँगै अमेरिका पहिलो र भारत दोस्रो स्थानमा पुगेको हो ।
चीनबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। यस वर्ष अक्टोबरमा ११ हजार ६९५ चिनियाँ पर्यटक नेपाल आएका छन् । गत वर्ष यही अवधिमा चीनबाट ६ हजार ७५५ पर्यटक आएका थिए ।
पर्यटक आगमनका आधारमा बेलायत चौथो स्थानमा रहेको छ । अक्टोबरमा ९ हजार ३८५ बेलायती पर्यटक नेपाल आएका छन् । त्यस्तै, अष्ट्रेलियाबाट ९ हजार ३५२, जर्मनीबाट ६ हजार ११४, श्रीलंकाबाट ५ हजार ५६०, बंगलादेशबाट ४ हजार ८९३, फ्रान्सबाट ४ हजार १६४ र म्यानमारबाट ३ हजार २५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
भारतीय पर्यटक घट्दा सार्कको हिस्सा खस्कियो
भारतीय पर्यटकको आगमन घटेसँगै सार्क क्षेत्रबाट नेपाल आउने पर्यटकको समग्र संख्या पनि घटेको छ। यस वर्ष अक्टोबरमा सार्क मुलुकबाट २४ हजार ५३ पर्यटक नेपाल आएका छन्। गत वर्ष यही अवधिमा यो संख्या २९ हजार ६० थियो। यसले सार्क क्षेत्रबाट पर्यटक आगमन १७.२ प्रतिशतले घटेको देखाउँछ ।
यसको विपरीत युरोप र अमेरिकी महादेशबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । अक्टोबरमा युरोपबाट ३९ हजार ८७७ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको १५ हजार १४८ को तुलनामा निकै उच्च हो ।
त्यसैगरी अमेरिकी महादेशका विभिन्न मुलुकबाट २१ हजार २७० पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही महिनामा यो संख्या १६ हजार ४०७ थियो ।
पर्यटन व्यवसायीहरूले अमेरिकी, युरोपेली तथा चिनियाँ पर्यटकको बढ्दो आगमनले नेपालको पर्यटन बजार थप विविध बन्दै गएको आँकलन गरेका छन् । यद्यपि, भारतीय पर्यटकको संख्यामा आएको गिरावट दीर्घकालीन रूपमा कायम रहे त्यसले नेपालको पर्यटन उद्योगमा नयाँ चुनौती सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ ।




