माछापुच्छ्रे बैंकको नाफा ३२% ले बढ्यो, तीन महिनामा कमायो ५५ करोड
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.१५ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म बैंकले १ अर्ब ६६ करोड ६५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४६ करोड २ लाख ४० हजार रुपैयाँ थियो ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.२३ प्रतिशतले बढेर २ अर्ब १७ करोड ९० लाख ९४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ५ करोड १२ लाख रुपैयाँ थियो ।
सञ्चालन मुनाफा ३४ प्रतिशतले बढ्यो
बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा ३४.४६ प्रतिशतले बढेर ८० करोड ४६ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ११ करोड २१ लाख १४ हजार रुपैयाँ धनात्मक भएको छ ।
खराब कर्जा घट्यो, ईपीएस बढ्यो
बैंकको सम्पत्तिको गुणस्तरमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.१५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९७ प्रतिशतमा झरेको छ ।
त्यस्तै, बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ४३ पैसाबाट बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि बढेर १५४ रुपैयाँ ४ पैसा कायम भएको छ ।
निक्षेप र कर्जा दुवै बढ्यो
समीक्षा अवधिमा बैंकको व्यवसाय विस्तारमा समेत सुधार देखिएको छ। बैंकको कुल निक्षेप संकलन २.१८ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बैंकको कर्जा प्रवाह १२.३३ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । नाफा, ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिसँगै निष्क्रिय कर्जा घट्नुले माछापुच्छ्रे बैंकको वित्तीय अवस्थामा सुधार आएको देखिएको छ । अझ महत्वपूर्ण पक्ष, गत वर्ष ऋणात्मक रहेको वितरणयोग्य मुनाफा यस वर्ष धनात्मक बनेको छ ।




