बिचौलियासँग नाम जोडेको भन्दै रास्वपा सांसद पोखरलेको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विचौलियासँगको सम्बन्धबारे आफ्नो नाम जोडेर समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् ।
“मेरो नाम समेत जोडेर बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेन तथा अन्य गम्भीर विषयमा लगाइएका आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” पोखरेलले निकालेको विज्ञप्तिमा भनिएको छ ।
समाचारमा उल्लेख गरिएका आरोपहरू निराधार रहेको उनको दाबी छ । “समाचारमा उल्लेख गरिएका आरोपहरू निराधार, भ्रामक तथा कपोलकल्पित छन् । कुनै पनि दलाल वा बिचौलियासँग मेरो जीवनमा चिनजान, सम्पर्क वा संलग्नता छैन,” उनले भनेका छन्, “मसँग जोडेर प्रस्तुत गरिएका कथित आर्थिक लेनदेन तथा अन्य आरोपहरू पूर्ण रूपमा भ्रामक र खेदजनक छन् ।”
उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा कुनै पनि प्रकारको सम्बन्ध नभएको दाबी गरेका छन् ।
पोखरेलले विज्ञप्तिमा आफ्नो ३५ वर्षे राष्ट्रसेवामा कुनै दाग नलागको दाबी पनि गरेका छन् । उनले प्रतिष्ठामा आँच पुर्याउने उद्धेशयले आएका भ्रामक सामग्री प्रचारविरुद्ध कानुनी उपचारको बाटो आफूसँग सुरक्षित रहेको उल्लेख गरेका छन् ।
“मेरो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले झुटा, भ्रामक तथा आधारहीन सामग्री प्रचारप्रसार गर्ने कार्यविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्ने अधिकार मसँग सुरक्षित नै छ,” उनले भनेका छन् ।





