राजमार्गका होटल–रेस्टुरेन्टलाई विभागको चेतावनी, मूल्यसूची र बिल अनिवार्य, लापरबाही गरे कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजमार्ग तथा राजमार्ग आसपास सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट तथा खाजा घरका व्यवसायीलाई उपभोक्तामैत्री सेवा सुनिश्चित गर्न निर्देशन दिँदै कानुन उल्लंघन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राजमार्ग क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट बिक्री–वितरण हुने खाद्य तथा पेय पदार्थको गुणस्तर, मूल्य र सेवासम्बन्धी उजुरी बढ्दै गएको भन्दै व्यवसायीलाई तत्काल सुधार गर्न आग्रह गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विभागले कानुनविपरीतका गतिविधि दण्डनीय हुने स्पष्ट पारेको छ ।
विभागले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य तथा पेय पदार्थको बिक्री–वितरण तथा सेवा प्रवाह गर्न सबै व्यवसायीलाई निर्देशन दिएको छ। साथै, सार्वजनिक सूचनामार्फत पाँच विषय अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
सूचनाअनुसार होटल तथा रेस्टुरेन्टले सबै खाद्य सामग्री र सेवाको स्पष्ट मूल्यसूची -रेट लिस्ट_ ग्राहकले सजिलै देख्न सक्ने स्थानमा राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा सेवाको अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्ने व्यवस्था पनि कडाइका साथ पालना गर्नुपर्ने विभागले जनाएको छ ।
त्यसैगरी, खाद्य वस्तुको तयारी, भण्डारण, पकाउने, बिक्री–वितरण तथा सेवा प्रवाहका क्रममा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ । भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी तथा शौचालयलगायतका स्थानमा नियमित सरसफाइ कायम राख्न र दूषित, सडेगलेका वा खान अयोग्य खाद्य पदार्थ बिक्री–वितरण नगर्न पनि विभागले निर्देशन दिएको छ।
विभागले तोकिएको मूल्य र प्रचलित कानुनको पालना गर्दै ग्राहकलाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा दिन व्यवसायीलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड र उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लंघन गरेको पाइए सम्बन्धित व्यवसायीलाई कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।




