एनआईसी एशिया बैंकद्वारा चारवटा सामुदायिक विद्यालयलाई सहयोग
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुगु, डोटी र मोरङ जिल्लाका चारवटा सामुदायिक विद्यालयलाई सहयोग उपलब्ध गराएको छ।
बैंकले छायाँनाथ रारा नगरपालिका-३, मुगुस्थित श्री हिमालय आधारभूत विद्यालय, आदर्श गाउँपालिका-२, डोटीस्थित श्री नमादेव माध्यमिक विद्यालय, दिपायल सिलगढी नगरपालिका-१, डोटीस्थित श्री मगलेक माध्यमिक विद्यालय तथा जहदा गाउँपालिका-३, मोरङस्थित श्री बाललक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला तथा पानी शुद्धिकरण प्लान्ट प्रदान गरेको हो।
विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले यो सहयोग गरेको जनाएको छ।
यस क्रममा मुगुस्थित श्री हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक लोक बहादुर मल्ललाई बैंकका कर्णाली सर्कल हेड जीवन शाही र मुगु शाखा प्रमुख विश्वराज बुढाले संयुक्त रूपमा पोशाक, झोला र शैक्षिक सामग्री हस्तान्तरण गरे।
यस्तै, डोटीका श्री नमादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव राज ओझा तथा श्री मगलेक माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक पुस्कर बहादुर साउदलाई बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले ती सामग्रीहरू उपलब्ध गराए।
मोरङस्थित श्री बाललक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक बलेश्वर राजवंशीलाई भने बैंकका विराटनगर सर्कल हेड दशरथ पराजुलीले पानी शुद्धिकरण प्लान्ट जडान गरी हस्तान्तरण गरे।
सामुदायिक विद्यालयहरूलाई प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको नियमित सिकाइ प्रक्रियामा सहजता ल्याउनुका साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।



