पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट १५ करोड रुपैयाँ पुँजी जुटाउनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ। यससम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्। सम्झौतामा हस्ताक्षर गर्दा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको पनि उपस्थिति थियो।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ।
कम्पनीले ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार र पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित आयोजनामा रणनीतिक रूपमा लगानी गर्दै आएको जनाएको छ। कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित लगानीका विभिन्न क्षेत्रमा काम गरिरहेको जनाएको छ।



