देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि आवतजावत खुला
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडानको कार्य सम्पन्न गरेको छ ।
सेनाको टोलीले निरन्तर खटिएर ५ दिन अगाडि सुरु गरेको सो पुल जडानको कार्य केहीबेर अघि मात्रै पूरा भएको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।
प्रधानमन्त्री कार्यालयले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै सेनाको प्रयासबाट उक्त क्षेत्रमा यातायात सञ्चालन सहज बन्न पुगेको जनाएको छ । नयाँ पुल जडान भएसँगै भोलि (बिहीबार) देखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने शुक्रबारदेखि साना–ठुला सवारी साधनहरू समेत सञ्चालनमा आउने छन् ।




