रसुवा बाढीपछि नेपाल टेलिकमको फाइबर नेटवर्क पुनःसञ्चालनको पहिलो चरण सम्पन्न
काठमाडौं। गत भदौ १० गते आएको अविरल वर्षापछिको विनाशकारी बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेपछि कम्पनीले पहिलो चरणको नेटवर्क पुनःसञ्चालन कार्य सम्पन्न गरेको छ।
नेपाल टेलिकमका अनुसार बाढीले रसुवागढी र बेत्रावतीमा रहेका एक–एक गरी दुई वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी), रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँच वटा फाइबर वितरण केन्द्र (एफडीसी) पूर्ण रूपमा बगाएको थियो। त्यस्तै करिब १२८ किलोमिटर हवाई अप्टिकल फाइबर केबल पनि बाढीले बगाएको थियो। यस क्षतिका कारण उक्त क्षेत्रमा रहेका १ हजार ५ सय ४४ वटा फाइबर टु द होम (एफटीटीएच) लाइन पूर्ण रूपमा अवरुद्ध भएका थिए।
कम्पनीले विपद् लगत्तै प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाएको जनाएको छ। हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा आइसकेका छन्, जससँगै पहिलो चरणको सेवा पुनःस्थापना कार्य सम्पन्न भएको हो।
नेपाल टेलिकमका अनुसार बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको संरचना, प्राविधिक सम्भाव्यता तथा सेवाग्राहीको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ।
प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा सेवाग्राहीसम्म यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। साथै सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता, विश्वास र सहयोगप्रति नेपाल टेलिकमले हार्दिक आभार व्यक्त गरेको छ।



