भोटेकोशीका बाढीपीडितको राहतका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६२ लाख सहयोग
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ६२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
भदौ १६ गते बसेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले संस्थागत सामाजिक उत्तरदायित्वे कोषबाट ५१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर संकलन गरेको ११ लाख रुपैयाँसमेत थप गरी कुल ६२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले संकटको यस घडीमा सदैव साथ रहने प्रतिबद्धता जनाएको छ ।
स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको समयमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको स्मरण गराएको छ ।
कम्पनीले बाढी प्रभावित परिवारको सुरक्षित उद्धार र घरबारविहीन भएकाहरूको यथाशक्य चाँडो पुनर्नस्थापनामा जोड दिएको छ । साथै, यस दुःखद घटनामा ज्यान गुमाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेको छ ।

