जलवायु अभियन्ता अटल देव ढकाल बने पहिलो ‘ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’
ललितपुर । जलवायु न्यायका अभियन्ता, वातावरणविद् तथा युवा अगुवा अटल देव ढकाल ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’ को पहिलो क्षेत्रीय विजेता बनेका छन् ।
ललितपुरस्थित द प्लाजामा मंगलबार सम्पन्न ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को महाफाइनलमा ढकाललाई पहिलो दक्षिण एसियाली ग्लोकल टिन हिरोको उपाधि प्रदान गरिएको हो । नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताहरू सहभागी महाफाइनलले पाँच राष्ट्रलाई एउटै मञ्चमा जोडेको थियो ।
जलवायु कार्य, वातावरणीय न्याय र युवा नेतृत्वका क्षेत्रमा उल्लेखनीय योगदानका लागि ढकाललाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ । उनले युङ्गो (YOUNGO) अन्तर्गतको पहाड र हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण तथा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा सीमान्तकृत युवाको प्रतिनिधित्वका लागि काम गर्दै आएका छन् ।
उनको पहलले युवा सञ्जाल निर्माण गर्दै कोप-३१ अघि एक लाख युवाको आवाज बुलन्द पार्ने लक्ष्य लिएको छ । साथै, उनले जलवायु नीति खाका, क्षेत्रीय जलवायु दूत पहल तथा अभियान उपकरणमार्फत युवा तथा विश्वविद्यालयका वातावरण क्लबलाई विश्वव्यापी जलवायु शासनमा संलग्न गराउने प्रयास गर्दै आएका छन् ।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै भएको थियो । त्यसपछि बाढी प्रभावित तथा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा ग्लोकल प्राइभेट लिमिटेडका कर्पोरेट प्रबन्धक बिराट सिंह ठकुरीले स्वागत मन्तव्य दिएका थिए ।
उपाधि प्रायोजक गोल्छा ग्रुपका तर्फबाट सीमा गोल्छाले युवाको सामर्थ्यमा लगानी गर्नु दिगो र समृद्ध दक्षिण एसिया निर्माणका लागि आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपालस्थित बंगलादेश दूतावासका उपप्रमुख मो. शोएब अब्दुल्लाह, श्रीलंका दूतावासकी राजदूत रुवान्थी डेलपिटिया तथा भुटानका कन्सल दोर्जे ग्याल्चेन लामालगायत कूटनीतिक प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा आशिष पन्थीलाई एलुम्नाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा पद्म ज्योति समूहका निर्देशक साउरभ ज्योति, युनेस्कोका प्रतिनिधि जाको दु तोइत तथा ग्लोकल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष आशिष ठाकुरले युवा नेतृत्व, क्षेत्रीय सहकार्य र सामाजिक प्रभावबारे धारणा राखेका थिए ।
दक्षिण एसियाली महाफाइनलमा नेपालका अटल देव ढकालसहित बंगलादेशकी मुनाजिया स्निग्धा मून, भुटानकी उग्येन शेडेन तोब्गे, भारतका राघुल आर र श्रीलंकाका मोहमद अमाजिर मोहमद अमानथ राष्ट्रिय विजेताका रूपमा सहभागी थिए ।
ग्लोकल टिन हिरो सन् २०१५ मा काठमाडौF उपत्यकाबाट सुरु भएको थियो ।
बाह्र वर्षको यात्रामा नेपालबाट भारत, श्रीलंका र बंगलादेशसम्म विस्तार भएको यो पहलले सन् २०२६ मा पाँच राष्ट्रलाई समेट्दै ग्लोकल टिन हिरो दक्षिण एसिया क्षेत्रीय मञ्च स्थापना गरेको आयोजकले जनाएको छ ।
ग्लोकल प्राइभेट लिमिटेडद्वारा आयोजित कार्यक्रमलाई गोल्छा ग्रुपले उपाधि साझेदारका रूपमा साथ दिएको थियो । भारतीय दूतावास, संयुक्त अरब इमिरेट्स दूतावास, यूएनएफपीए, प्लान इन्टरनेशनल, यूएन विमेन र कोइकालगायत संस्थाहरू रणनीतिक तथा संस्थागत साझेदार रहेका थिए ।


