बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन
काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् ।
टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।
नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिकास्थित कालिकास्थानको टावरबाट पनि सेवा पुनःसञ्चालनमा आएको छ ।
त्यस्तै, नुवाकोटका तुप्चे र बुङ्ताङ बिटिएस पनि आजदेखि सञ्चालनमा आएका छन् । ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ । यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका छन् ।
यसैबिच, फिल्डमा खटिएका प्राविधिकको मनोबल उच्च राख्दै सेवा पुनःसञ्चालनको कामलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी प्रभावित क्षेत्र नुवाकोटलगायतका स्थानमा पुगेकी छन् ।
यसअघि उनले नेपाल टेलिकमको बबरमहलस्थित विपद् व्यवस्थापन कक्षको बैठकमा सहभागी भई सेवा पुनःसञ्चालनको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको थियो । प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा टेलिकमले गरिरहेको सेवा पुनःसञ्चालनको विवरणसमेत प्रस्तुत गरेका थिए । रासस


