बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साता नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।
रोयटर्ससँग शनिबार कुरा गर्दै अर्थमन्त्री वाग्लेले प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणका लागि ४–५ अर्ब डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने बताएका हुन् । मन्त्री वाग्लेले यो प्रारम्भिक अनुमान मात्रै भएको र बाढीबाट भएको क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको स्पष्ट पारेका छन् ।
बाढीले सीमा क्षेत्रसहित विभिन्न जिल्लामा घर, सडक, पुल, पूर्वाधार तथा अन्य संरचनामा ठुलो क्षति पुर्याएको छ । सरकारले अहिले उद्धार तथा राहतसँगै क्षतिको मूल्याङ्कन र पुनर्निर्माणको आवश्यकता पहिचान गर्ने काम अघि बढाइरहेको छ ।


