अब नेपाल टेलिकमका ग्राहकले एकै पटक हजारौँलाई पठाउन सक्नेछन् भ्वाइस म्यासेज
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई प्रि–रेकर्डेड भ्वाइस म्यासेज पठाउन सकिने नयाँ आउटबाउन्ड आईभीआर (Outbound IVR) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमका अनुसार यस सेवामार्फत बढीमा एक मिनेटसम्मको व्यावसायिक तथा सूचनामूलक सन्देश हजारौं व्यक्तिसम्म एकैपटक पुर्याउन सकिनेछ । कम्पनीले यसअघि आन्तरिक प्रयोजनका लागि परीक्षणका रूपमा सञ्चालन गरिरहेको सेवालाई अब संस्थागत तथा व्यक्तिगत ग्राहकले समेत प्रयोग गर्न सक्ने गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो ।
यो सेवा कुनै सूचना, परीक्षाको नतिजा, प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक सामग्री धेरै व्यक्तिसम्म पुर्याउन उपयोगी हुने कम्पनीले जनाएको छ । सेवा लिन चाहने कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची र सन्देश समावेश भएको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ ।
आवश्यक प्रक्रिया पूरा भएपछि ग्राहकले तोकेका नम्बरहरूमा स्वचालित रूपमा फोन कल गरी सन्देश पठाउन सकिनेछ । यसरी कल गर्दा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कल प्राप्त गर्ने व्यक्तिको फोनमा कलर आईडीका रूपमा देखिने नेपाल टेलिकमले जनाएको छ ।
हालका लागि यो सेवा लिन इच्छुक ग्राहक वा सेवा प्रदायकले दूरसञ्चार कार्यालय, सुन्धारामार्फत निर्धारित फारम भर्नुपर्नेछ ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार स्वचालित रूपमा ठूलो संख्यामा व्यक्तिसम्म सूचना तथा सन्देश पुर्याउन सकिने भएकाले आगामी दिनमा यस प्रकृतिको सेवाको माग बढ्दै जाने कम्पनीको विश्वास छ ।


