धार्मिक स्थल बडीमालिकामा नेपाल टेलिकमको फोर-जी सेवा, ४,२३० मिटर उचाइमा बन्यो टावर
काठमाडौं । धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर-जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएपछि बडीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध भएको हो ।
सेवा सञ्चालनमा आएपछि बडीमालिका पुग्ने स्थानीय, तीर्थयात्री, पर्यटक तथा सरकारी र गैरसरकारी निकायलाई सञ्चार सम्पर्क गर्न सहज हुने भएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट फोर-जी सेवा उद्घाटन गर्दै भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । चालु वर्षलाई दूरसञ्चार क्षेत्रमा सुधार तथा डिजिटल रूपान्तरणको वर्षका रूपमा अघि बढाउने तयारी भइरहेको उल्लेख गर्दै उनले सबै नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने सरकारको लक्ष्य रहेको बताए ।
बडीमालिकामा सेवा सञ्चालनका लागि खटिएका नेपाल टेलिकमका प्राविधिकसँग मन्त्री तिमिल्सिनाले भिडियो कलमार्फत प्रत्यक्ष संवादसमेत गरे । उनले टावर निर्माण तथा सेवा सञ्चालनका क्रममा आइपरेका कठिनाइबारे प्राविधिक टोलीसँग जानकारी लिएका थिए ।
नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य र सिभिल इन्जिनियर दीपकराज भट्टलगायतले टावर निर्माण तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराएका थिए ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारलाई संस्थाले प्राथमिकतामा राखेको बताइन् । व्यावसायिक लाभभन्दा सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा सेवा पुर्याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
बडीमालिकामा सञ्चार सेवा विस्तार गर्न सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । त्यसपछि टेलिकमले टावर निर्माण तथा फोर-जी सेवा सञ्चालनका लागि आवश्यक तयारी थालेको थियो ।
बडीमालिका क्षेत्रमा सडकमार्फत उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गरिएको थियो । प्राविधिक तथा भौगोलिक चुनौतीका बीच टेलिकमको प्राविधिक टोलीले टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएको हो ।
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग पनि मन्त्री तिमिल्सिनाले दूरसञ्चार पूर्वाधार, टावर स्थापना गर्ने स्थान तथा सडकको अवस्थाबारे छलफल गरेका थिए ।
बडीमालिका मन्दिर समुद्र सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको छ । नेपाल टेलिकमले मन्दिर क्षेत्रभन्दा केही माथि करिब ४ हजार २३० मिटरको उचाइमा रहेको लौरी विनायकमा टावर स्थापना गरेको जनाएको छ ।
स्थायी बस्ती कम भए पनि बडीमालिका धार्मिक, पर्यटकीय तथा पदयात्राका हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले यहाँ सञ्चार सेवा विस्तार आवश्यक रहेको टेलिकमका सहायक प्राविधिक अधिकृत बुढाथोकीले बताए । फोर-जी सेवा सञ्चालनसँगै बडीमालिका मन्दिर, पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रमा पुग्ने तीर्थयात्री र पर्यटकलाई मोबाइल तथा इन्टरनेट प्रयोग गर्न सहज हुनेछ ।
सरकारले दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तार, फोर-जी सेवाको पहुँच वृद्धि, सेवा गुणस्तर सुधार तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको छ ।
यसै योजनाअन्तर्गत जुम्लाको हाट सिँजा क्षेत्रमा पनि भदौ ५ गतेदेखि फोर-जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजारमा सेवा विस्तार भएपछि सिँजा क्षेत्रको सञ्चार पहुँच थप सहज भएको छ ।
त्यस्तै, सगरमाथा आधार शिविरमा फोर-जी सेवा विस्तारका लागि अध्ययन भइरहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान, ठूलीभेरी नगरपालिका-१ दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलामा यसअघि नै फोर-जी सेवा सञ्चालनमा आइसकेको छ ।
सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले दूरसञ्चार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
नेपाल टेलिकमका अनुसार देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । नयाँ टावर निर्माण र विद्यमान पूर्वाधारको क्षमता विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ ।


