सगरमाथादेखि आरोग्य (वेलनेस) सम्म: पाटा ट्राभल मार्ट २०२६ मा नेपालको विविधता प्रवर्द्धन
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नौ वटा ट्राभल ट्रेड कम्पनीहरूको सहकार्यमा यही मिति १८ देखि २० अगस्टसम्म मलेसियाको सारावाकस्थित कुचिङमा रहेको बोर्नियो कन्भेन्सन सेन्टर कुचिङ (BCCK) मा सम्पन्न एसिया प्यासिफिक क्षेत्रकै प्रमुख अन्तर्राष्ट्रिय बीटूबी ट्राभल ट्रेड कार्यक्रम — पाटा ट्राभल मार्ट २०२६ — मा प्रभावकारी उपस्थिति जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरेको छ।
यस मार्टमा ४८ देशहरू र गन्तव्यहरूबाट १,१०० भन्दा बढी पर्यटन प्रतिनिधिहरूको सहभागिता रह्यो, जसमा २९ स्रोत बजारका २१५ कम्पनीको प्रतिनिधित्व गर्ने २२१ जना खरिदकर्ता र २०० भन्दा बढी संस्था तथा गन्तव्यको प्रतिनिधित्व गर्ने ३६५ भन्दा बढी बिक्रेताहरूले सहभागिता जनाएका छन। मार्टले पर्यटन व्यवसाय र गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोडिने र नयाँ साझेदारी विकास गर्ने अवसर सिर्जना गरेको छ।
पाटा ट्राभल मार्ट २०२६ मा सहभागी नेपाली पर्यटन व्यवसायीहरुमा हिमालयन होलिडेज नेपाल, एक्सपिडिसनहिमालया.कम, डेस्टिनागो टुर्स एन्ड ट्राभल्स, रोयल माउन्टेन ट्राभल, तेन्जिङ हिलारी एभरेष्ट म्याराथन, अफ द वाल ट्रेकिङ, माउन्टेन डिलाइट ट्रेक्स एन्ड एक्सपिडिसन्स, माउन्टेन टाइगर नेपाल र मिसन नेपाल होलिडेज समावेश भएका थिए।
“नेपाल प्यावेलियन”ले नेपालका पर्वतारोहण, ट्रेकिङ, अभियानहरू, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, सामुदायिक पर्यटन र अविस्मरणीय अनुभवहरू लगायत विविध पर्यटकीय उपज र आकर्षणहरू प्रदर्शन गरेको छ । सन् २०२७ लाई “वेलनेस वर्ष” का रूपमा मनाउने तयारी रहेको परिवेशमा नेपाली पर्यटन व्यवसायीहरूले गन्तव्यको समग्र आकर्षणसँगै वेलनेस सेवाहरूको समेत प्रवर्द्धन गरेको सम्भवतः पहिलो अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शोको रुपमा पाटा ट्राभल मार्ट २०२६ सम्पन्न भएको छ।
पाटा ट्राभल मार्ट २०२६ मा पाटा नेपाल च्याप्टरद्वारा आगामी बर्ष २०२७ मा जुन १ देखी ४ सम्म काठमाडौं, नेपालमा आयोजना हुने नेपालको प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शो — हिमालयन ट्राभल मार्ट को ७औं संस्करणको समेत प्रवर्द्धन गरिएको छ।
पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले पाटा ट्राभल मार्ट २०२६ नेपाली बिक्रेताहरूका लागि निकै फलदायी रहेको र पाटा नेपाल च्याप्टरले विश्वभरका च्याप्टरहरूमध्ये पुनः ‘एवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेकोमा एक गौरवपूर्ण क्षण समेत बनेको बताउनु भयो।
पाटा मुख्यालयका सिइओ नूर अहमद हामिदले पाटा ट्राभल मार्टको आयोजन एक कार्यक्रम मात्र नभई मूल्यवान र गुणस्तरीय व्यावसायिक सम्बन्धहरू निर्माण गर्नु हो, जसबाट सिर्जना हुने अवसरहरूले दिगो साझेदारीको रूप लिने बताउनुभयो।
सारावाकका पर्यटन, सिर्जनशील उद्योग तथा प्रदर्शन कला मन्त्री र युवा, खेलकुद तथा उद्यमशीलता विकास मन्त्री वाइबी दातो श्री हाजी अब्दुल करिम रहमान हम्जाहले सारावाकमा पाटा ट्राभल मार्ट २०२६ आयोजना गर्नु हाम्रा लागि अन्तर्राष्ट्रिय पर्यटन समुदायसँगको सहकार्य सुदृढ गर्ने र एसिया प्यासिफिकभर पर्यटनको भविष्यको विकासमा योगदान पुर्याउने महत्त्वपूर्ण अवसर भएको ब्यक्त गर्नुभयो।
ट्राभल मार्टका मुख्य दुई दिन बीटूबी अवधीभर खरिदकर्ता र बिक्रेताहरूले ४,००० भन्दा बढी निर्धारित व्यावसायिक भेटघाटहरूमा सहभागिता जनाए, जसले नयाँ साझेदारी विकास गर्ने, नयाँ स्रोत बजारहरू पहिचान गर्ने र भावी व्यवसाय सिर्जना गर्ने अवसर प्रदान गरेको छ। पाटा ट्राभल मार्ट २०२६ को सफल समापनसँगै, अर्को बर्ष पाटा ट्राभल मार्ट २०२७ साल सेप्टेम्बर २० देखि २२सम्म मकाउमा आयोजना हुनेछ।


