कृषिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न महासंघको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रलाई कृषि उद्यम, लगानी, प्रविधि, नवप्रवर्तन र बजारलाई एकीकृत गर्ने प्रभावकारी संस्थाका रूपमा अघि बढाइने भएको छ । कृषि उद्यम केन्द्रका समितिका सहसभापति, सदस्यहरू तथा सल्लाहकारहरुलाई मनोनयनपत्र हस्तान्तरण गर्न महासंघमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले कृषि क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न कृषि उद्यम केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । केन्द्रले किसान, उद्यमी, लगानीकर्ता र बजारबीच समन्वय गर्ने प्रभावकारी संस्थागत संयन्त्रका रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको उल्लेख गरे । उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा लगानी र उद्यमशीलता विस्तारका लागि नीतिगत तथा संस्थागत अवरोध हटाउन महासंघले आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि उद्यम केन्द्रलाई परिणाममुखी र व्यावसायिक ढंगले अघि बढाउन समितिका सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणविना देशको दिगो आर्थिक विकास सम्भव नहुने बताए । उनले कृषि उद्यम केन्द्रले किसानको उत्पादन, निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र बजारलाई जोड्दै कृषि क्षेत्रमा नयाँ उद्यम र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले कृषि उद्यम केन्द्रले मुलुकभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी स्थानीय तहमा कृषि उद्यमको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्नुपर्ने बताए । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, किसान र उद्यमीबीच सहकार्य बढाउने तथा स्थानीय स्रोतसाधनको व्यावसायिक उपयोग गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।
त्यसैगरी महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले कृषि क्षेत्रमा लगानी विस्तारका लागि वित्तीय पहुँच, लगानी सुरक्षा र अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको बताए ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट मुक्त गरी व्यावसायिक, प्रतिस्पर्धी र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए ।

