आइएमई लाइफको नवौं वार्षिकोत्सव, ‘न्यानो नानी’ बेबी वार्मर वितरणका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवका अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरणका लागि सहकार्य सम्झौता गर्नुका साथै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।
कम्पनीले भदौ १ गते केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने देशभरका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए। रक्तदानले अस्पतालमा हुने रगतको अभाव कम गर्न, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्याउन तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत दिन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गरेको छ। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान गरी उत्पादन गरेको ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले सम्झौताले दुई संस्थाबीच दीर्घकालीन साझेदारीको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई संस्थागत गरेको बताए।
‘न्यानो नानी’ समय नपुगी वा कम तौल भएर जन्मिएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधाको पहुँच कम भएका क्षेत्रमा यस्तो उपकरण उपयोगी हुने कम्पनीले जनाएको छ।
सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्ने भएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र न्यून पहुँच भएका क्षेत्रका नवजात शिशुको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको कम्पनीले जनाएको छ।
उपकरण सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा उपयुक्त स्थानमा जडान गरिनेछन्। यसबाट नवजात शिशुको मृत्युदर घटाउन तथा आमा र शिशुको स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
प्रमुख कार्यकारी अधिकृत खडकाका अनुसार कार्यक्रम कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत सञ्चालन गरिएको हो। कम्पनीले यसअघि पनि सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको जनाएको छ।
जीवन बीमाबारे जनचेतना अभिवृद्धि, बीमामार्फत ग्राहकको वित्तीय सुरक्षा तथा राष्ट्रको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यसहित सञ्चालनमा आएको आइएमई लाइफले विगत नौ वर्षमा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी र आवश्यकताअनुकूल समाधानमार्फत सेवा विस्तार गर्दै आएको जनाएको छ। देशभरको शाखा सञ्जाल र जनशक्तिमार्फत सर्वसाधारणसम्म गुणस्तरीय बीमा सेवा पुर्याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

