पाटा नेपाल च्याप्टर “पाटा एक्सिलेन्स अवार्ड २०२६” द्वारा सम्मानित
काठमाडौं । पाटा नेपाल च्याप्टरले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा मुख्यालय) द्वारा प्रदान गरिने प्रतिष्ठित “पाटा एक्सिलेन्स अवार्ड” जित्न सफल भएको छ। मलेसियाको सारावाकमा आयोजना हुनगैरहेको पाटा ट्राभल मार्ट २०२६ सुरु हुनुभन्दा एक दिन अगाडि आज १७ अगस्ट २०२६ का दिन सारवाकस्थित कुचिङमा रहेको कमन्स क्याफे, ओल्ड कोर्ट हाउसमा आयोजना गरिएको पाटा च्याप्टर तथा विद्यार्थी च्याप्टर पुरस्कार समारोहबीच पाटाका विभिन्न देशका च्याप्टरहरुमध्ये पाटा नेपाल च्याप्टरलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो।
पाटा एक्सिलेन्स अवार्ड हरेक वर्ष ती पाटा च्याप्टर तथा विद्यार्थी च्याप्टरहरूलाई प्रदान गरिन्छ, जसका गतिविधिहरूले विगत एक वर्षमा पाटाका उद्देश्य र लक्ष्यहरू अनुरूप प्यासिफिक एशिया क्षेत्रमा यात्रा तथा पर्यटन उद्योगको विकासप्रतिको समर्पणलाई उत्कृष्ट रूपमा प्रतिनिधित्व गर्दछ।

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले संस्थाको तर्फबाट यो पुरस्कार ग्रहण गर्नुभयो। पुरस्कारका लागि पाटा मुख्यालयप्रति आभार तथा कृतज्ञता व्यक्त गर्दै उहाँले पाटा नेपाल च्याप्टरको कार्यकारी समिति र सचिवालय टिमको समर्पित भूमिकालाई पनि उजागर गर्नुभयो, जसको सक्रिय नेतृत्व सीईओले गरिरहनुभएको छ। उहाँले भन्नुभयो, उहाँहरुको योगदानबिना पछिल्लो वर्षहरूमा प्राप्त महत्त्वपूर्ण उपलब्धिहरू सम्भव हुने थिएनन्।
पाटा नेपाल च्याप्टरका सीईओ सुरेश सिंह बुडालले “पाटा एक्सिलेन्स अवार्ड ” पुनः एकपटक प्राप्त गर्नु पाटा नेपाल र समग्र नेपाली पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताउनुभयो। उहाँले पाटा नेपाल च्याप्टरले आफ्नो स्थापनाकाल देखि नेपालको दिगो पर्यटन विकास र प्रवर्धनका लागि निरन्तर रुपमा सक्रिय वकालत र सहभागितामूलक भूमिकामा उत्कृष्टता प्रदर्शन गर्दै विश्वभरका सबैभन्दा सक्रिय पाटा च्याप्टरहरूमध्ये एक अब्बल संस्थाको रुपमा पहिचान स्थापित गरेको उल्लेख गर्नुभयो। साथै, पाटा मुख्यालयबाट प्राप्त यो अवार्डले संस्थाले दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रवर्धनका लागि निरन्तर रुपमा निर्वाह गर्दैआएको भूमिकालाई अझ सशक्त बनाउन प्रेरित गर्ने वहाँले बताउनुभयो।

